झापाको कचनकवलमा फेरि दुईजना संगै झुन्डिए

झापा, १० माघ । झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई दुई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन् ।कचनकवल गाउँपालिका वडा नं ४ केचनाको खुट्टामुनिमा रहेको एभरेष्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई स्थानीय २५ वर्षिय राजेशकुमार गणेश र १८ वर्षिया पवित्रा राजवंशीले एकैसाथ आत्महत्या गरेका हुन् । उनीहरुले माछा मार्ने नाइनलको जालको डोरी बनाई पासो लागेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए । युवतीलाई सिदुरपोते लगाइदिएर उनीहरु झुन्डिएका हुन् ।

गत वर्ष उनीहरुले भागी विवाह गरेका थिए । ती युवती गणेशको घरमा करिव ५ वर्ष संगै बसेकी थिइन् । तर , युवतीका अभिभावकले छोरी नाबालिका भएको भन्दै आफ्नो घर फर्काएको उपाध्यक्ष भट्टराईले बताए । दुवैजनाले झुन्डिएर आत्महत्या गरेपछि केटा र केटी पक्षबीच विवाद चलेको बताइएको छ ।
अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ । घटनाका बारे आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।यसअघि गत साउनमा कचनकवल –५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारस्थित बयरको रूखमा सोही ठाउँका तीनजना किशोरीले झुन्डिएर आत्महत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published.