
काठमाडौं ,१० माघ । छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडामगरलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरिएको छ ।
२१औं सशस्त्र प्रहरी दिवसको अवसरमा आइतबार मुख्यालय हल्चोकमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले डीआइजी ठाडामगरलाई सो अवार्ड प्रदान गरेका हुन् ।कार्य सम्पादनका आधारमा यसवर्ष सशस्त्र प्रहरी बल नेपाल, मधेश प्रदेश महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनी मुख्यालयबाहिनी उत्कृष्ट बाहिनी घोषित भएका थिए ।
सो अवसरमा प्रधानमन्त्री देउवाले असामान्य परिस्थितिमा स्थापना भई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको व्यवसायिकता, कर्तव्य परायणता र सेवाभावको मुक्तकण्ठले प्रशंसा गरे ।
प्रधानमन्त्री देउवाले आम नागरिकको सेवा र राष्ट्रको सुरक्षा तथा सीमा सुरक्षाको साथै विभिन्न तहका निर्वाचन सुरक्षा, २०७२ सालको विनासकारी महाभूकम्पमा उद्वार, बिभिन्न प्राकृतिक प्रकोप तथा विपद्हरुमा उद्वार तथा राहत वितरण, कोभिड–१९ महामारी नियन्त्रण तथा डेडिकेटेड अस्पताल मार्फत संक्रमितहरुको स्वास्थ्य उपचारमा पु¥याएको योगदान, सीमा नाकामा आवतजावत नियन्त्रण तथा क्वारेन्टिन व्यवस्थापनमा सम्पादन गरेका कार्यहरु प्रशंसनीय रहेको बताए ।
कार्यक्रममा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति प्रभुराम शर्मा ,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायतका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।