चुलाचुली,१० माघ । इलामको चुलाचुलीमा यहि माघ १४ र १५ गते ‘तेस्रो चुलाचुली पाठशाला नाट्य महोत्सव’ हुने भएको छ । चुलाचुली रंगमञ्चको आयोजनामा हुने नाट्य महोत्सवको तयारी अन्तिम चरणमा रहेको अध्यक्ष चेतन आङ्थुपोले बताए । “विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यताको खोजी” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव चुलाचुली ३ स्थित शिव ओरक मिलन पोखरी पर्यटन क्षेत्रमा हुने जनाईएको छ ।
२०७० साल मंसिर २९ र पुस १ गते दुई दिवसीय नाटक उत्सव गरेको र २०७६, ०७९ देखि भने चुलाचुली पाठशाला नाट्य महोत्सव गरिएको उनले बताए । उनका अनुसार यस वर्ष सोही शृंखलालाई निरन्तरता दिइएको र यो तेस्रो संस्करण हो ।
गत वर्षदेखि समुदायसँग सहकार्य गरेर नाटकमा समुदायको सीप कलामा जोडेको उनको भनाइ छ । समुदायसँग रंगमञ्च जोड्ने र स्थानीय ठाउँमा रहेका माटो, ढुंगा, पानी र विभिन्न वनस्पतिबाट स्टेज बनाइरहेको उनले सुनाए । प्राकृतिक चिजलाई कसरी कलात्मक बनाउने भन्ने अभ्यास गरिरहेको अध्यक्ष आङ्थुपो बताउँछन् ।
उनले चुलाचुली रंगमञ्चको विशेषता भनेको अरू रंगमञ्चभन्दा फरक रहेको दावी गर्छन् । रंगमञ्चको विषयमा शिक्षा, कलालाई कसरी जोड्न सकिन्छ भन्ने अभ्यास पनि रहेको उनको भनाइ छ । अघिल्लो वर्ष महोत्सवको समयमा लाइभ पेन्टिङ चित्र बनाइएको थियो। यस वर्ष पनि उक्त शृंखलालाई दोहो¥याइने उनले बताए ।
‘कुन लोकेसनमा नाट्य महोत्सव हुन्छ। त्यही ठाउँलाई नियालेर चित्रकारहरूले चित्र बनाउनुहुन्छ। हामीले अघिल्लो वर्ष पाँच जना चित्रकारलाई चुनेका थियौँ,’ उनी भन्छन्, ‘त्यसबेला पोखरी, जंगल, रूखलगायतबारे पेन्टिङ भएको थियो। चित्रकारले स्वेच्छाले चित्र बनाउनुहुन्छ।’
महोत्सवका समयमा दुई दिन नाटक कार्यशाला गरिने तयारी गरिएको छ । जसका लागि अनिल सुब्बाले कार्यशालामा सहभागी नाट्यकर्मीलाई प्रशिक्षण दिनेछन्। महोत्सव सफल बनाउन कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र चुलाचुली गाउँपालिकाले आर्थिक सहयोग गरेका छन्। यस वर्ष करिब साढे सात लाख खर्च हुने अनुमान गरिएको छ।
महोत्सवको पहिलोदिन विहान ११ वजे प्रवीण भण्डारीले निर्देशन गरेको नाटक ‘भूमरी’ प्रस्तुत हुनेछ । त्यसपछि १२ बजे अर्को नाटक ‘उ जुनेली’ प्रस्तुत हुनेछ । सुविजिमुर मेमोरियल मावि सुन्दरहरैँचा, मोरङले प्रस्तुत गर्ने उक्त नाटक मौसम कार्कीले निर्देशन गरेका छन्। दिउँसो १ बजे नाटक ‘खुला चुनौती’ प्रस्तुत हुनेछ भने उक्त नाटक चेतना नाट्य समूह इलामले प्रस्तुत गर्ने तयारी छ ।
दिउँसो २ बजे नाटक ‘डार्क स्याडो’ प्रस्तुत हुनेछ । कला क्रान्ति नाट्य समूह हेटौँडाले प्रस्तुत गर्ने उक्त नाटकका निर्देशक भावेश बानियाँ छन्। दिउँसो ३ बजे नाटक ‘मडी लुगा’ प्रस्तुत हुनेछ । उक्त नाटक पञ्चबुद्ध एकेडेमी चुलाचुली ४, इलामले प्रस्तुत गर्न लागेको हो भने रिचल राई निर्देशक छन्। दिउँसो ४ बजे प्यानल डिस्कसन गरिने तयारी रहेको आङ्थुपोले बताए ।
कार्यक्रम अन्तर्गत महोत्सवको दोस्रो दिन बिहान ७ देखि १० बजेसम्म नाट्य कार्यशाला हुनेछ । बिहान १० बजे खुला प्रस्तुति’(चारसिल नृत्य) प्रस्तुत हुनेछ । उक्त नृत्य नेपाल कुलुङ भाषा संस्कृति उत्थान चुलाचुलीले प्रस्तुत गर्नेछ ।
बिहान ११ बजे नाटक ‘द ल्यान्ड अफ मङ्की’ प्रस्तुत हुनेछ । अमृत बोर्डिङ स्कुल चुलाचुली २ ले प्रस्तुत गर्ने नाटकको निर्देशक खेमराज धमला छन्। दिउँसो १२ बजे बालज्योति मावि चुलाचुली ४ ले नाटक ‘द रुट’ प्रस्तुत गर्नेछ। उक्त नाटकको जेम्स लिम्बूले निर्देशन गरेका हुन्। आयोजकका अनुसार दिउँसो १ बजे रिलायन्स अंग्रेजी मावि मिक्लाजुङ ७, मोरङले नाटक ‘मौनताको कथा’ प्रस्तुत गर्नेछ । उक्त नाटक अनुप बिकले निर्देशन गरेका हुन्।
अन्तिम नाटक दिउँसो २ बजे ‘वातावरण’ प्रस्तुत हुनेछ । जनता मावि चुलाचुली २ ले प्रस्तुत गर्ने उक्त नाटक दिप्सन विकले निर्देशन गरेका हुन्। सोही दिन दिउँसो ३ बजे प्यानल डिस्कसन र ४ बजे समापन कार्यक्रम गरिने जनाइएको छ ।