झापा, ९ माघ । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।
उनका अनुसार पक्राउ गरिएका अभियुक्तबाट झण्डै गाँजा तीन दशमलव ६७ किलोग्राम, खैरो हिरोइन सात सय २० दशमलव ८० ग्राम, ट्रमाडोल सात हजार दुई सय ३७ ट्याबलेट, एन्टिकफलगायत ट्याबलेट रहेको छ ।
प्रहरीले लागुऔषधसहित मानिस नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार छ महिनामा जिल्ला अदालत झापामा एक सय ५१ वटा लागुऔषधका मुद्दा दर्ता भइसकेको छ ।
लागुऔषधको कारोबार हुने जिल्लाका विभिन्न स्थान र सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रवक्ता चन्दले बताए । “सीमानाका, गाउँबस्तीबाट सहरबजारसम्म लागुऔषधको कारोबार देखियो”, उनले भने, “लागुऔषध नियन्त्रणका लागि हामीले चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ ।”
यसैगरी प्रहरीले छ महिनामा एक सय ४८ जना फरार प्रतिवादी पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । प्रवक्ता चन्दका अनुसार जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याएको रु. एक करोड ६१ लाख १० हजार सात सय २२ मूल्य बराबरका सामान बरामद गरी मेची भन्सार कार्यालयमा बुझाइएको छ ।