फागुन १९ देखि झापा गोल्डकपको छैटौं संस्करण शुरु

झापा,९ माघ । झापा गोल्डकपको छैठौ संस्करणका रुपमा यसवर्ष यहि फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोडको डोमालाल रंगशालामा हुने भएको छ ।सोमबार गोल्डकपको तयारीका सम्बन्धमा पत्रकार सम्मेलन गर्दै गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले अघिल्लो संस्करणमा झै यसबर्ष पनि उद्योगी व्यवसायीको साथ लिएर गोल्डकपको तयारी तीव्र पारिएको जनाए ।

गोल्डकपका अध्यक्ष बस्नेतले यस पटक गोल्डकप सम्पन्न गर्न १ करोड ४० लाख रुपैंयाँ खर्च हुने अनुमान गरिएको बताए । प्रतियोगिताबाट रकम बचत गरी १ करोड बढीको अक्षयकोष निर्माण गर्ने लक्ष्य रहेको उल्लेख उनले गरे ।
प्रतियोगितामा नेपालका ७ र तीनवटा बिदेशी टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गरेर जनाएको छ । २०७२ सालबाट सुरु भएको गोल्डकपले कोरोना संक्रमणका कारण निरन्तरता पाउन सकेको थिएन । कोभिड तथा आर्थिक मन्दीका कारण गोल्डकप नियमित हुन नसकेको आयोजकको भनाई छ ।
झापा गोल्डकपको यो संस्करणमा पुरस्कारको राशीसमेत बृद्धि गरेको छ । प्रतियोगिताको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने आयोजक समितिका अध्यक्ष बस्नेतले जानकारी दिए । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् ।
छैटौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिनेछ । यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ । यो रकम गोल्डकप उद्घाटनको दिन प्रदान गरिने जनाइएको छ ।
अघिल्लो संस्करणको आयोजनाबाट झापा गोल्डकपले ९८ लाख रुपैयाँ बैंक मौज्दात राखेको कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । यो पटकको प्रतियोगिताबाट पनि रकम बचत गरेर झापा ११ का खेलाडीको स्तरबृद्धिमा खर्च गरिने तयारी रहेको गिरीले बताए ।पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका सल्लाहकार मदनगोपाल सुब्बालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.