दमक,८ माघ । प्रदेश एकका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिट्टै सकेसम्म सहमतिय आधारमा नभए बहुमतीय प्रकृया अपनाएर भएपनि प्रदेश एकको नामाकरण गरिने बताएका छन् ।
गृह जिल्ला झापाको दमक- ५ स्थित बौद्ध गुम्बा परिसरमा आइतवार सोनाम ल्होछारको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रम तथा शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गदैं मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाको औचित्यका बिषयमा नागरिकस्तरबाटै प्रश्न उठिरहेको प्रति आफू गम्भिर रहेको बताए । अव छिट्टै यस प्रदेशले नाम पाउने उनको भनाई थियो ।
उनले प्रदेश सरकारलाई मितव्ययी र जनअपेक्षाकृत बनाउने उद्धेश्य राखेरनै सानो आकारको मन्त्रीमण्डल बनाएको पनि जिकिर गरे ।
विभिन्न जातजातिका मौलिक चाडपर्व, संस्कृति र रितिरिवाजहरु बहुमूल्य साझा सम्पत्ति भएको चर्चा गदैं उनले भने, –‘ प्रदेश सरकारले विभिन्न जातजातिको मौलिकता र पहिचानको संरक्षणका लागि प्रदेशस्तरमा बहुसाँस्कृतिक संग्रहालय निर्माण गर्ने योजना रहेको छ ।’
उनले दमकस्थित यस गुम्बा मार्फत तामाङ समुदायको संस्कृति र मौलिकता संरक्षणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । धेरै तडकभडक नगरी आफनो मौलिकता र संस्कृति जगेर्ना गर्ने किसिमका कार्यक्रमहरु अघि बढाउन सबैसंग उनको आग्रह थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य होमबहादुर थापा, दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई , नेकपा माओवादी केन्द्रका प्रदेश कोषाध्यक्ष एवं सामाजिक व्यक्तित्व गगन पुरी लगायतले पनि ल्होछार पर्वको शुभकामना मन्तव्य राखेका थिए ।