-फागुन ७ देखि १६ गतेसम्म भद्रपुर झापा गोल्ड कप
झापा,८ माघ । भद्रपुरस्थित मेची रंगशालामा यहि फागुन ७ देखि १६ गतेसम्म आयोजना हुन लागेको भद्रपुर झापा गोल्ड कपको तयारी तीव्र पारिएको छ ।
गोल्डकपको मिति नजिकिएसँगै प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न आवश्यक सवै तयारी तीव्र पारिएको आयोजक संस्था भद्रपुर झापा गोल्डकपका महासचिव तथा निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।
स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति गठन गरि काम तीव्र पारिएको छ । विस २०६१ सालमा भएको त्रिभुवन गोल्डकपपछि भद्रपुरमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता भएको छैन् ।गोल्डकप सम्पन्न गर्न खेल व्यवस्थापन, पुरस्कार तथा सम्मान र खेलाडी व्यवस्थापनका लागि झण्डै एक करोड ५० लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।
महासचिव श्रेष्ठका अनुसार गोल्डकपमा नेपाल, भारत तथा भुटानका गरी १० टिमको सहभागिता रहने छ । आयोजक टिम भद्रपुर ११ मा नेपाल तथा क्यामरुनका ख्यातिप्राप्त ए डिभिजनका खेलाडी सहभागी हुने श्रेष्ठको भनाइ छ । यस्तै नेपाल आर्मी ,नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, मनाङमस्र्याङ्दी लगायतका नेपालका ख्यातिप्राप्त ए डिभिजन टिमको प्रतियोगितामा सहभागिता रहने छ । गोल्डकपको राशी विजेतालाई रु १३ लाख र उपविजेतालाई रु ७ लाख रहेको छ ।
गोल्डकपलाई निरन्तरता दिन संस्था विधिवत दर्ता गरिनुका साथै संस्थागत रुपमा थप सुढृण बनाउन विधानत धमाधम आजीवन सदस्यहरु बनाउदै लगिएको महासचिव श्रेष्ठको भनाई छ ।
खेलकुदको गतिविधिहरुमा ओझेलमा परेको भद्रपुरमा पहिलोपटक नीतिगत रुपमा नै यसरी व्यवस्थित ढंगले गोल्डकप आयोजना हुन लागेको हो ।नगरपालिका संरक्षक रहने गोल्डकपमा जेष्ठ तथा शारीरिक रुपमा अपाङ्गता भएकालाई निःशुल्क हेर्न दिने व्यवस्था समेत मिलाइएको उनले बताए ।
यस गोल्डकपले भौतिक पूर्वाधार भएर पनि सुस्त बन्दै गएको भद्रपुरको आर्थिक तथा व्यापारिक गतिविधि बढ्नेमा टेवा पुग्ने नगर प्रमुख गणेश पोखरेलको भनाइ छ ।