झापा ,८ माघ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा प्रत्येक वर्ष प्रदान गरिने कृति तथा पुरस्कृत प्रतिभाहरू छनौट गरेको छ ।कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले कृति तथा प्रतिभा छनौट उपसमितिले निर्णय गरेर ल्याएका नामलाई छलफल गरी अनुमोदन गरेको हो ।
कोषले २०८० सालमा प्रकाशित कृतिहरु मध्येबाट बर्षोत्कृष्ट कृतिका रुपमा भारत कालेम्पोङ निवासी राजेन्द्र भण्डारीद्वारा लिखित कृति सृजन सन्दर्भ नामक लेख संगालोलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै विशेष प्रतिभा पुरस्कार तथा सम्मानबाट बिर्तामोड निवासी वरिष्ठ अधिवक्ता, कवि तथा साहित्यकार लीला उदासीलाई प्रदान गरिने निर्णय गरेको छ ।
त्यसैगरी धनमाया महिला पत्रकारिता वर्ष पुरस्कारबाट स्वस्तिका आचार्य सिटौला र अपाङ्गता प्रोत्साहन पुरस्कारबाट अर्जुनधारा निवासी खेम रेग्मीलाई प्रदान गरिने निर्णय भएको प्रसाईले जानकारी दिए ।
उनका अनुसार बर्षोत्कृष्ठ कृति, विशेष प्रतिभा पुरस्कार र धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारको राशी जनही नगद २५–२५ हजारसहित सम्मान पत्र रहेको छ ।
यस्तै अपाङ्गता प्रोत्साहन पुरस्कार ११ हजार नगदसहित सम्मान पत्र रहेको कोषाध्यक्ष डिल्लीप्रसाद प्रसाईले बताए ।
पुरस्कृत प्रतिभाहरूलाई आगामी फागुन ७ गते कोषको आफ्नै सभाहलमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार तथा सम्मान प्रदान गरिने छ ।
अध्यक्ष प्रसाईले आफ्ना माता–पिताको सम्मानमा २०५९ सालमा जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको स्थापना गरी साहित्य र पत्रकारिताको उन्नयनका लागि पुरस्कार वितरण गर्दै आएको छ ।
सुरुमा बर्षोत्कृष्ठ कृतिबाट पुरस्कार प्रदान गरेको कोषले क्रमिक रुपमा धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार, विशेष प्रतिभा सम्मान तथा पुरस्कार र अपाङ्गता प्रोत्साहन पुरस्कारको स्थापना गरी वितरण गर्दै आएको छ ।
कोषले साहित्य, पत्रकारिता र विभिन्न प्रतिभाको पहिचान गरी बार्षिक रुपमा चारवटा विधामा पुरस्कार प्रदान गर्दै आएको छ ।