पुस्तक व्यवसायीले पालिकामा बुझाए ज्ञापनपत्र

बिर्तामोड, ७ माघ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले जिल्लाका कतिपय विद्यालयहरुले व्यावसायिक रुपमा विद्यालय हाताबाट शैक्षिक सामग्रीको खुलेआम बिक्री वितरण गरिरहेको भन्दै त्यसप्रति स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।
यसक्रममा महासंघले जिल्लाका ६ वटा पालिकामा ज्ञापनपत्र बुझाएको छ । झापाका अध्यक्ष विनोद सापकोटाले जिल्लाका ६ वटा स्थानीय तहका प्रमुख, शिक्षा अधिकारीलगायतलाई आईतबार ज्ञापनपत्र बुझाउँदै ‘यस्तो अबैध बिक्री वितरणको नियमन गर्ने निकाय तीन तहको सरकारमध्ये स्थानीय सरकार पनि भएकाले अव नियमन हुनु पर्ने औल्याएका छन् ।
संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधन सहित) परिच्छेद ४।४को ७ मा विद्यालयहरू आफैंले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री वितरण गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीलाई बाध्य नगराउने भन्ने व्यवस्था छ । यति हुँदाहुँदै पनि झापाका संस्थागत विद्यालयमा खुलेआम शैक्षिक सामग्रीको बिक्री वितरण भइरहेको अध्यक्ष सापकोटाले आरोप लगाए ।
विद्यालयमा नियमित अनुगमन र नियमन हुन नसक्दा यस्ता कानुन विपरीतका गतिविधि विद्यालय हातामा भइरहनु दुःखदायी विषय भएको महासंघ झापाले जनाएको छ ।
विद्यालय हाताभित्र शैक्षिक सामग्री नेपाल सरकारले उपलब्ध गराउने जनक शिक्षा सामग्री केन्द्र बाहेकका निजी प्रकाशनका पाठ्यपुस्तक, पेन्सिल, कापी, इरेजर, सार्पनर, कटर, प्रश्नोत्तर, म्यानुअल, चक, डस्टर, मार्कर, मसी, उत्तरपुस्तिकालगायतका वस्तुको खरिद बिक्री नगर्न नगराउनका लागि आफ्ना पालिकाका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई परिपत्र गरिदिन माग गरिएको उल्लेख छ।‘पालिकाका सबै विद्यालयलाई परिपत्र गरी त्यसको प्रत्यक्ष अनुगमन र नियमन गरिदिनुहुन समेत माग गरिएको बुझाइएको ध्यानाकर्षणपत्रमा भनिएको छ ।
ज्ञापनपत्र बुझ्दै गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष पूmलवती राजवंशीले व्यवसायीका माग जायज भएको बताईन् । उनले गौरीगञ्ज गाउँपालिकाभित्र कुनै पनि विद्यालयले विद्यार्थी तथा अभिभावकहरूलाई विद्यालयबाट नै पाठ्यपुस्तक स्टेशनरी तथा पोशाक खरिद गर्न बाध्य पारिए कार्वाही गरिने बताईन् । उनले विद्यालय प्रशासन, शिक्षकलगायत कर्मचारीले विद्यालय हातामा शैक्षिक सामग्रीको बिक्री बितरण नगर्न पालिकाका विद्यालयलाई अनुरोध गरिन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले विद्यालयलाई परिपत्र गरि त्यसको अनुगमन गरिने बताए । उनले व्यवसायीको गुनासो जायज भएको पनि बताए ।

व्यवसायीले कमल गाँउपालिकाका शिक्षा अधिकारी सूर्यप्रसाद न्यौपाने, दमकका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्की, गौरादहका शिक्षा अधिकारी विदुर आचार्य, शिवसताक्षीका शिक्षा अधिकारी छवि ढकाल र कनकाई नगरपालिकाका शिक्षा शाखाका अधिकृत मेदनीप्रसाद पाठकलाई ज्ञापनपत्र बुझाएका थिए ।
व्यवसायीले विद्यालय हातामा शैक्षिक सामग्रीको बिक्री वितरण गरेको अनुगमनका क्रममा पाइएमा ती शैक्षिक सामग्री जफत गर्न पनि माग गरेका छन् । ज्ञापनपत्र बुझाउन महासंघका सचिव चन्द्रमणि घिमिरे, ५ नम्बर इकाई प्रमुख मनकुमार चौलागाईँ, जिल्ला सदस्य रोशन श्रेष्ठ, ५ नम्बर इकाई सचिव खेमराज श्रेष्ठ, सदस्य सोमप्रसाद अधिकारी, रुपक श्रेष्ठलगायतको सहभागिता थियो ।
व्यवसायीले जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, १५ वटै पालिकाका प्रशासन शाखा, प्याव्सन झापा, एन प्याव्सन झापामा ज्ञापनपत्रको बोधार्थ दिएका छन् ।

Leave a Reply

Your email address will not be published.