दमक,७ माघ । दमक जेसीजले दमक- ८ मा निर्माण हुने कार्यालय भवनको शिलान्यास गरेको छ । आज एक कार्यक्रम गरि भवन निर्माणको शिलान्यास गरिएको अध्यक्ष सञ्जिव बरालले बताए ।
दमक ८ मा कार्यालयसहित जेसीज सामुदायिक भवन निर्माण हुने दमक जेसीज बोर्ड अफ ट्रष्टका अध्यक्ष लोकबहादुर अधिकारीले शिलान्यास गरेका हुन् । भवन स्थानीय तथा प्रदेश सरकारको सहयोगबाट बन्न लागेको दमक जेसीज वर्ष २०१८ का अध्यक्ष चन्द्र खत्रीले बताएका छन् । उनकै पालामा सामुदायिकसहितको तालिम भवन बनाउन स्थानीयले लाखौ मूल्य पर्ने ४ कठठा जग्गा दान दिएका थिए ।
भवन बनाउन दमक जेसीजका पूर्व अध्यक्ष भगवान बस्नेतको एक निर्माण उपभोक्ता समिति गठन गरिएको छ । भवन निर्माणका लागि दमक नगरपालिकाले रु १० लाख वजेट विनीयोजन गरेको र अन्य वजेट प्रदेश सरकारसंग माग गरिएको बुझिएको छ ।
भवनको अनुमान रु २ करोड लागत रहेको छ । भवन निर्माण भएपछि तालिम लगायतका सामाजिक गतिविधिहरु गर्न हलको आवश्यकता नहुने अध्यक्ष बरालले बताएका छन् । दमक ८ मा जेसीजको सचिवालय भवन भएपनि ठाउँ अभावका कारण अन्यत्र कार्यालयसहित सामुदायिक भवन निर्माण गर्न पहल गरिएको हो ।
शिलान्यास कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष प्रकाश प्रसाद अधिकारी, दमक जेसीजका पूर्व अध्यक्षहरु नेत्र चम्लागाई,गञ्जबहादुर दाहाल,चन्द्र खत्री,कमल कटुवाल,सुयोग खरेल लगायतका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो ।
नेतृत्वमा दुई आकांक्षी
दमक जेसीज वर्ष २०२३ को अध्यक्षका लागि मुकेश अग्रवालसहित तीन जनाले आफनो दावी प्रस्तुत गरिआएका छन् । नेतृत्वमा वर्तमान महासचिव अग्रवाल,कार्यकारिणी उपाध्यक्ष आरसी अधिकारी लगायतले दावी गरिआएका छन् ।
ती मध्ये अग्रवालनै सर्वसम्मत भावी अध्यक्ष हुने बताईएको छ ।
नेतृत्व चयन गर्न दमक जेसीजले आफना पूर्व अध्यक्ष कमल कटुवाल आयुक्त रहेको एक निर्वाचन समिति गठन गरेको छ । निर्वाचन कार्यक्रम अन्तर्गत शनिवार मतदाता नामावली प्रकाशन ,उम्मेदवारी दर्ता र सहमति नभए भोलि आइतवार निर्वाचन कार्यक्रम रहेको आयुक्त कटुवालले बताए ।