पथरीशनिश्चरेमा नगर खेलकुद महोत्सवको शुरु

पथरीशनिश्चरे, ७ माघ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा शनिवारदेखि पथरीशनिश्चरे नगर खेलकुद महोत्सव -२०८० सुरु भएको छ ।खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान भन्ने नाराका साथ आयोजित महोत्सवको नगरप्रमुख मोहनप्रसाद तुम्वापोले उद्घाटन गरे ।
नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित खेलकुद महोत्सव माघ १५ गतेसम्म चल्नेछ।
महोत्सवका अवसरमा फुटबल (महिला, पुरुष), भलिवल, क्रिकेट, बुद्धिचाल , तेक्वान्दो, कराँते, मिनि म्याराथन गरी ७ विधामा प्रतिस्पर्धा हुने समितिका सदस्य सचिव नवीन खुलालले जानकारी दिए।
नगरपालिकामा दर्ता भएका क्लवहरूबाट फुटबलमा १० वटा टिमले सहभागिता जनाएका छन् । क्रिकेटमा वडा स्तरबाट ९ वटा टिम रहेका छन् भने भलिवलमा ७ वटा टिम सहभागी हुने भएका छन् । कराँतेमा पुरुष ३७ र महिला २० जना, तेक्वान्दोमा ५० जना, बुद्धिचालमा सय बढी सहभागीहरुले भाग लिएको जनाईएको छ ।
त्यस्तै, मिनि म्याराथनका लागि ५० बढीले भाग लिने छन् भने २ वटा महिला फुटबल टिमले सहभागिता जनाउने भएका छन् । खेलकुदका कार्यक्रमहरु बुद्धिचाल सिनभिलेज पार्टी प्यालेसमा, क्रिकेट जिरीखिम्ती मैदानमा र अन्य खेलहरू प्रस्तावित पथरी रंगशाला जाँतेमोडमा संचालन गरिने नगर खेलकुद विकास समितिका सदस्य सुजन बास्तोलाले जानकारी दिए ।
फुटबल प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोस्रोलाई ५० हजार, महिला फुटबल प्रथम हुनेलाई १० हजार र दोस्रो ५ हजार नगद ट्रफी, मेडल रहेको छ । फुटबलमा प्रत्येक खेलमा म्यान अफ दी म्याच र फाइनलमा विधागत पुरस्कारहरू रहेका छन् । जसमा गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोब्सको व्यवस्थापन गरिएको छ ।
यसैगरी,भलिवल खेलमा प्रथम हुनेले २५ हजार र दोस्रोले १५ हजार, क्रिकेटमा पहिलो २० र दोस्रो १५ हजारसहित विधागत पुरस्कारहरू रहेका छन् । कराँते र तेक्वान्दोमा प्रथम पुरस्कार पाँच हजारका दरले रहने छ। कराँते र तेक्वान्दो उमेर समूह अनुसार हुनेछ। मिनि म्याराथनमा प्रथम ६ हजार, दोस्रो ४ हजार र तेस्रो हुनेले २ हजारका दरले नगद पुरस्कार प्रदान गरीने छ भने म्याराथनमा महिला र पुरुष दुबै सहभागीको अलग अलग मूल्याङ्कन गर्ने तयारी छ । मिनि म्याराथन माघ १२ गते शुक्रबार बिहान गर्ने तयारी गरिएको खेलकुद विकास समिति संयोजक दिपक राईले बताएका छन्। विभिन्न विधाका यि खेलकुद प्रतियोगिताहरू सम्पन्न गर्न नगरपालिकामा वार्षिक स्वीकृत बजेट अनुसार १४ लाख ३१ हजार रुपैयाँ विनियोजन भएको जनाईएको छ।
नगर खेलकुद विकास समितिको आयोजनाको अध्यक्ष दिपक राईको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नगर प्रमुख तुम्बापो,उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशी राई, १० वटै वडाका वडाध्यक्षहरू क्रमशः भीम कुमार राई, नैना राई, विजय लिम्बु, लोककिरण न्यौपाने ,नवीन कार्की, चेतन खड्का, जीवन खतिवडा, ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश कुमार श्रेष्ठ, विभिन्न पार्टीका नगर अध्यक्ष तथा सचिवहरु , रेडस्टार माविका प्रिन्सिपल टिएन तिम्सिना, नगर प्याब्सनका अध्यक्ष सुरेन्द्र लिम्बु, उद्योगी तुलसी ढकाल, पथरी जेसीजका अध्यक्ष राज कुमार विक, नगर स्वास्थ्य शाखाका प्रमुख मुरारी प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको उद्घाटन खेल सिरीजंगा फुटबल क्लब र प्रभात सामुदायिक फुटबल क्लबबिच भएको थियो।
सिरीजंगा फुटबल क्लबले प्रभात सामुदायिक फुटबल विरूद्ध ३ – १ को अन्तरमा पराजित गर्दै विजय हासिल गरेको छ भने आइतवारको खेल नाजारिन वाई सि र वाई एफ सी बिच प्रतिष्पर्धा हुने आयोजक जनाएको छ।

Leave a Reply

Your email address will not be published.