
दमक, माघ ६ । दमकको एड्भान्स अस्पतालमा घुँडाको जोर्नीको प्रत्यारोपण गरिएको छ । अत्याधुनिक प्रविधि र दक्ष चिकित्सक उपलब्ध भएसंगै प्रदेशमै पहिलोपटक घुँडाको जोर्नी प्रत्यारोपण गर्न सफल भएको अस्पतालले जनाएको छ ।
अस्पतालका हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा.अनुप पोखरेलले झापा, कमल ६ की ६५ बर्षिया जमुनादेवी भण्डारीको घुँडाको जोर्नीको सफल प्रत्यारोपण गरेका हुन् ।
धेरै ठाउँमा उपचार गराएपनि निको नभएको घुँडाको समस्या समाधानका लागि डा.पोखरेलले जोर्नी प्रत्यारोपण गर्नुपर्ने बताएपछि भण्डारी परिवार चिन्तित बनेको थियो । केहि खर्चिलो र जटिल खालको शल्यक्रिया भएकोले पनि दमकमै उपचार हुन सक्नेमा शंका लागेपनि डा. पोखरेलको परामर्शपछि यहिँ उपचार गर्न राजी भएको भण्डारीले बताईन् ।
भण्डारीको घुँडाको हड्डी पुरै खिइएर समस्या बढेकोले जोर्नी प्रत्यारोपण गरिएको डा. पोखरेलले बताए । उनका अनुसार यो प्रविधिबाट झापामा पहिलोपटक उपचार भएको हो । प्रदेश १ मै धरान र विराटनगरमा मात्रै यो प्रविधिबाट उपचार भैरहेको डाक्टर पोखरेलको भनाइ छ ।