दमक ,७ माघ । किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले यसवर्ष पनि यहि माघ ११ गते सामूहिक रुपमा वनभोज मनाउने तयारी गरेको छ । अघिल्ला वर्षझै यसवर्ष पनि इलामको चुलाचुली गाउँपालिका -५ स्थित पर्यटकीयस्थल चपेटीमा बनभोजसहित शुभकामना आदानप्रदान,विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमका साथ मनाउने तयारी तीव्र पारिएको चुम्लुङ दमकका अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङले बताए । चुम्लुङले विगत तीनवर्ष देखि बार्षिक रुपमा यस किसिमको विशेष कार्यक्रम सञ्चालन गरिआएको छ ।
उनका अनुसार लिम्बू जातिको कुशङ येले तङबे ५०८५ र कक्फेक्वा तङनाम तथा ताम्भुङचा थिम्बेको अवसर पारेर दमकमा बस्दैआएका लिम्बू जाति बीच आपसी समन्वय स्वरुप बनभोज कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिएको हो । कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न चुम्लुङ दमकका सचिव चन्द्रबहादुर कन्दङवाको संयोजकत्वमा मूल आयोजक समिति तथा आवश्यक अन्य उपसमितिहरु समेत गठन गरिएको छ ।
संयोजक कन्दङवाले कला,संस्कृतिको संरक्षण र सम्बद्र्धनमा टेवा पुरयाँउन बर्षेनी कक्फेक्वा तङनाममा बनभोजसहितका विविध कार्यक्रमहरु गरिआएको बताए । कार्यक्रममा सहभागी हुन चुम्लुङले शसुल्क राखिएको र सहभागिताका लागि सवै लिम्बू समुदायलाई अनुरोध समेत गरिएको उनले बताए । कार्यक्रममा लिम्बूका खानपीनसहित धाननाँच ,केलाङ ,छेलो हान्ने ,धनुषकाँड हान्ने , डोरी तान्ने खेल लगायतका परम्परागत मनोरञ्जनका खेलहरु समेत सञ्चालन गरिने संयोजक कन्दङवाले बताएका छन् ।कार्यक्रममा लिम्बू पालामकी गायिका दुर्गा तुम्सा, कर्मिला आङदेम्बे, प्रमिला फियाक,फूङमा तुम्रोक,दासमाया लिम्बूको आर्कषक गीतहरुको प्रस्तुति रहने बताइएको छ ।