झापा ,७ माघ । जिल्लाको कनकाई नगरपालिका–४ स्थित कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ ।कनकाई नदीको पूर्वी किनार कोटीहोमस्थित कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको हो । शवदाह गृह निर्माणका लागि कोशी प्रदेश सरकार र कनकाई नगरपालिकाको गरि झण्डै रु दुई करोड ५० लाख रुपिया लागत अनुमान गरिएको कनकाई नगरपालिका वार्ड नं. ४ का वार्ड अध्यक्ष रोशन सुवेदीले बताए ।
उनका अनुसार शवदाह गृहको निर्माण चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने तयारी छ । विद्युतीय शवदाह गृहमा एउटा शव जलाउन ४५–५० मिनेट लाग्ने र लगभग रु ६ सय रुपियाको बिजुली खपत हुने बताइएको छ । एक पटकमा २ वटासम्म शव जलाउन मिल्नेछ ।
वनजङ्गलको बढ्दो विनाशका कारण दाउरा पाउन मुश्किल पर्ने, विपन्नलाई दाउरा खरिद गर्न महङ्गो पर्ने र अन्त्येष्टिका लागि समय पनि धेरै लाग्ने भएका कारण विद्युतीय दाहसंस्कार स्थल बनाउन तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
साविक मेचीमा पहिलो विद्युतीय शवदाह गृह निर्माण हुन लागेको र यसबाट यस क्षेत्रका बासिन्दालाई सुविधा पुग्ने कोशी प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा ऊर्जा मन्त्री एकराज कार्कीले बताए ।
विद्युतीय शवदाह गृह यन्त्र खरिदका लागि प्रदेश सरकारले रु २ करोड लगानी गर्ने र कनकाई नगरपालिकाले शवदाह यन्त्र राख्नका लागि आवश्यक आधार निर्माण गर्ने द्विपक्षीय सम्झौता भएको उनको भनाई छ ।
कनकाईको माई नदीमा निर्माण गरिने विद्युतीय शवदाह गृह बनाउँदा बढीमा रु १५ लाख खर्च हुने बताइएको छ । हाल कनकाई घाटमा दाउराबाट जलाउने ५ वटा चितास्थल रहेका छन् । पहिलो र दोस्रो चितास्थल कनकाई घाट संस्थाले, तेस्रो विर्तामोड निवासी समाजसेवी माता तिलरुपा खडकाले, चौथो मारवाडी सेवा समिति विर्तामोडले र पाँचौं आफ्ना स्वर्गवासी आफन्त मोहरादेवी, रामलाल, सरमनदेवी, सुरेन्द्र मित्तल लगायतको सम्मान र स्मृतिमा रु ४५ लाखको लागतमा विर्तामोड निवासी दिनेश मित्तल, प्रदीप मित्तल, मोहन मित्तल, हनुमान मित्तल, कैलाश मित्तल, ईश्वर मित्तल, राजेश मित्तल, रोशन मित्तल लगायतले निर्माण गरेका हुन् ।
विद्युतीय शवदाह गृह निर्माणमा लामोसमयदेखि स्थानीय स्तरको कनकाई घाट संस्थाले गुरुयोजना अघि बढाईएको संस्थापक अध्यक्ष प्रभाखर कडरियाले जानकारी दिए । विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाहसंस्कार गर्न आर्थिक अभावले पिरोलिनु पर्ने बाध्यता हट्ने उनको भनाई छ ।
कनकाई घाटमा दैनिक आधा दर्जन बढी शव दाहसंस्कार गर्न ल्याउने गरिएको छ । पूर्वकै यस पवित्र घाट निर्माणले वातावरणीय सन्तुलन मात्र नभएर दाउराको अभाव लगायतका समस्या हल हुदै जाने कनकाई घाट संस्थाका वरिष्ठ उपाध्यक्ष खेमनाथ मिश्र बताउँछन् । उनले भने, ‘दाउराको प्रयोग गरेर शव जलाउँदाभन्दा विद्युतीय माध्यमको प्रयोग गर्दा सस्तो र वातावरणलाई पनि राम्रो हुन्छ ।’ यसबाट वनविनाश रोकिने र वातावरण प्रदूषण कमी हुने उनको धारणा छ ।
विद्युतीय शवदाह गृह निर्माण गरी घाटमा आउने सबै शवलाई निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न सकिने बताइएको छ । यसका लागि कनकाई घाट संस्थाले अक्षय कोष स्थापना गरेको र हाल उक्त कोषमा रु ६ लाख रुपैयाँ पुगिसकेको छ । सो अक्षयकोषलाई कम्तीमा रु १ करोड पु¥याउने लक्ष्य रहेको छ । विद्युतीय शवदाह गृह निर्माणपछि निःशुल्क सञ्चालनका लागि कोषबाट आएको ब्याजबाट लागत बेहोर्ने गरि कोषवृद्धिमा संस्था लागिपरेको उनको भनाई छ ।
काठमाण्डौंस्थित पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा रु १५ हजार र विद्युतीय शवदाह गृहमा रु चार हजार रुपैयाँ शुल्क तोकिएको छ । कनकाई घाटमा दाउरा वापत रु ४ हजार रुपैयाँ र सरसफाइ वापत रु१ हजार पाँच सय रुपैयाँ लिइने गरेको संस्थाका कार्यालय सचिव खेम शिवाकोटीले जानकारी दिए ।
नेपालमा यस प्रकारका विद्युतीय शवदाह गृह काठमाण्डौंस्थित आर्यघाट, चितवनको देवघाट, पोखरा र इटहरीमा निर्माण भइसकेका छन् ।