दमक,५ माघ । दमक उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज मतदान भईरहेको छ । दमक -७ स्थित वडा कार्यालय मतदान स्थल व्यवसायीहरुको बाक्लो उपस्थितिले भरिभराउ छ । मतदानस्थलमा व्यवस्थापकीय कार्य सन्तुलित भएका कारण भोट हाल्न सम्म जान आउन लाइन बस्नु पर्ने खासै समस्या नभए निर्वाचन संयोजक लीला गुरागाईले बताएका छन् । अहिले ११ वजेसम्म ६ सय बढी मत खसिसकेको अनुमान छ ।
नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस निकट व्यवसायीको समूहमा राप्रपा ,जसपा र माओवादी केन्द्रको असन्तुष्ट खेमा छ भने नेकपा एमाले निकट व्यवसायीको समूहमा नेकपा माओवादी केन्द्र छ । संयुक्त लोकतान्त्रिक व्यवसायी समूहबाट अध्यक्षमा देवी प्रसाद गुरागाईं (गोपाल) र एमाले समर्थित व्यवसायीको समूहबाट बिमल खतिवडा अध्यक्षका प्रत्यासी छन् । गुरागाई कार्यसमिति सदस्य, पदाधिकारी हुदै हाल वरिष्ठ उपाध्यक्ष रहेका छन् भने खतिवडा यसअघि वर्तमान अध्यक्ष गोकुल श्रेष्ठसंग अध्यक्षमा पराजित भएका थिए । निर्वाचन समितिका संयोजक गुरागाईका अनुसार विहान ८.३० वजेदेखि मतदान शुरु भई दिउँसो ३ वजेसम्म चल्ने छ । मतदानमा संघमा आवद्ध २०१६ जना व्यवसायी मतदाता छन् ।