थापामाथि आक्रमण गर्नेलाई कार्वाही गर्न कांग्रेसको माग

झापा ,६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि आक्रमण गर्नेहरुलाई कार्वाहीको माग गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पूर्व मुख्यमन्त्रीसमेत रहेका थापामाथि भएको आक्रमणको निन्दा र भत्र्सना गर्दै अराजक र आपराधिक कार्यमा संलग्नहरूलाई कारबाहीको माग गरेका हुन् । थापामाथि शनिवार साँझ गृहजिल्ला झापामा कुटपिट भएको हो ।नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको बार्षिक साधारण सभाबाट फर्किदै गर्दा साँझ करिव ७ बजे कन्काई नगरपालिकाको जुकेखाडी कल्भर्टनजिक उनीमाथि कुटपिट भएको हो ।
बा १ झ ६५३ नं को गाडीमा घर फर्किदै गरेका अर्जुनधारा ७ निवासी थापामाथि बा १ ञ १८७० मा सवार विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारीहरुले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते थापाको देब्रे आँखा सुन्निएको छ ।
विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले सुरुङ्गा पुलनजिक डाइभर्सनमा ओभरटेक गर्ने क्रममा विवाद भएको बताइएको छ । कुटपिट गर्ने दुईजनालाई पक्राउ गरेको बिर्तामोड प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा गाडी चालक शिवसताक्षी -११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कर्मचारी कन्काई -३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published.