दमक,४ माघ । जंगली हात्तीको उपद्रो दिनानुदिन बढ्दै गएपछि हात्ती नियन्त्रणका लागि झापा, शिवसताक्षीका स्थानीयहरुले अभियान थालेका छन् ।हात्तीका कारण जंगल नजिकैका बस्तीमा क्षति पुरयाँउन थालेपछि स्थानीयहरुले हात्ती नियन्त्रणका उपायहरु खोज्न थालेका छन् । यसैक्रममा हात्ती प्रभावितहरु संगठित भई स्थानीयसहित तीनै तहका सरकारसम्म हात्ती नियन्त्रणका लागि पहल थालेका हुन् ।
शुक्रवार दुधेमा भएको स्थानीयहरुको भेलाले हात्ती प्रभावित सरोकार समाज नामक संस्थानै गठन गरि हात्तीको दिर्घकालीन नियन्त्रणका लागि काम थाल्ने गरि अभियान शुरु गरिएको हात्ती पीडित राजिब घिमिरेले बताए । दुधे,झिलझिले लगायतका स्थानमा केहिदिन यता जंगली हात्तीको उपद्रो मच्याउदै आएको छ । हात्तीको समूहनै बस्तीमा पसेपछि स्थानीयहरु त्रसित हुदैआएको उनले बताए ।
पूर्वपश्चिम राजमार्गको शिवसताक्षी खण्डको उत्तर तर्फ रतुवा माइवृक्षरोपण आयोजनाको जंगल क्षेत्र रहेको छ । त्यही जंगलबाट आहारका लागि निस्कने जंगली हात्तीले जंगल नजिकैका बस्तीका बासिन्दालाई दुख दिदैआएको छ । दुधे निवासी सञ्चारकर्मी समेत रहेका स्थानीय छविलाल दवाडीले केहिदिन यता जंगल नजिकका बस्तीमा रातैपिच्छे जंगली हात्ती आएर उपद्रो मच्याउदै आएकाले आफूहरु रातभरि त्रसित हुनुपरेको गुनासो गर्छन् । शिवसताक्षी नगरपालिकाको वडा न. १,८,९ ,१० र ११ का राजमार्ग नजिकका बस्तीमा हात्ती पस्र्दैआएको बुझिएको छ ।
सामाजिक अगुवा समेत रहेका हात्ती प्रभावित सरोकार समाजका संयोजक भिम लिवाङका अनुसार हात्ती पीडितहरुले आफू सुरक्षित रहनका लागि संगठित हुनुपरेको छ । हात्तीको उपद्रो नियन्त्रणका लागि वडा कार्यालय तथा प्रहरीसम्म हारगुहार गरिएपनि प्रभावकारी काम नभएपछि गाउँलेहरु जुट्न बाँध्य हुनुपरेको उनको भनाई छ । उनले भने,–‘यस क्षेत्रमा हात्ती नियन्त्रण तथा न्यूनीकरणका लागि पहल थाल्ने छौ, यसमा सबैको सहयोगको अपेक्षा राखेका छौं’उनले नवगठित समितिले एक साता भित्र यस क्षेत्रमा हात्तीले पुरयाँएको क्षति विवरण संकलन गर्ने तयारी गरिएको बताए ।
भेलाले हात्तीको उपद्रो नियन्त्रणका लागि सार्वजनिक सुनुवाई समेत कार्यक्रम गरिने निर्णय भएको गठित समितिका सदस्य सुन्दरकुमारी पाठकले बताईन् । सार्वजनिक सुनुवाई गर्नका लागि डिके लामाको संयोजकत्वमा एक तयारी समिति समेत गठन गरिएको बताईएको छ ।
हात्तीको उपद्रो रोक्न नवगठित समितिले स्थानीय ,प्रदेश तथा संघीय सरकारसम्म आफना मागहरु पुरयाँउने संयोजक लिवाङ बताउँछन् ।यता,जंगली हात्तीले शिवसताक्षीसहित शिवसताक्षीसंगै जोडिएको कमल गाउँपालिकाको राजमार्ग नजिकको वडा न. ३,४ र ५ का दर्जन बढी बस्तीमा समेत हात्तीले दिनहुँ जसो उपद्रो मच्याउदै अन्नवालीमा क्षति पुरयाँएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।