
दमक, ३ माघ । दमक -७ मा सुविधासम्पन्न वहुउद्देश्यीय कर्भड हल निर्माण शुरु भएको छ । स्थानीय व्याडमिन्टन खेलाडीहरुको सक्रियतामा दमक ७ स्थित नमुना बस्तीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण हुने भएको निर्माण उपभोक्ता समितिका सचिव प्रकाश राईले बताए ।
उनका अनुसार कर्भड हलको आज भूमिपूजा गरि औपचारिक रुपमा निर्माण शुरु गरिएको हो । कभर्ड हल निर्माणका लागि नगरपालिकाले ४ कठ्ठा जमीन उपलव्ध गराएको छ । कभर्ड हल निर्माणका लागि टंक बस्नेतको संयोजकत्वमा सचिव प्रकाश राई र कोषाध्यक्ष दिलु सुब्बा रहेको एक निर्माण उपभोक्ता समिति गठन गरिएको छ । ३ वटा कोर्ड रहने कर्भड हल निर्माण गर्न एक करोड ६८ लाख खर्च लाग्ने योजना रहेको सचिव राईले बताएका छन् ।
बैशाख भित्र सञ्चालनमा आउने कर्भड निर्माण पछि व्याडमिन्टन लगायतको इनडोर खेल खेल्न सुविधा पुग्ने उनले जनाए । यसैवीच ,कर्भड हल निर्माणका लागि खेल सम्बद्ध खेलाडीहरुबाट एकैदिन ३ लाख बढी स्वेच्छिक सहयोग प्राप्त भएको छ । कर्भड हल निर्माणका लागि गठित निर्माण समितिका अध्यक्ष बस्नेतले एक लाख एक हजार १ सय, शसस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्कीबाट रु ५१ हजार,पूर्व भारतीय सैनिक समेत रहेका व्याडमिन्टन खेलाडी धनजीत राईबाट ५१ हजार ५ सय ५५, दमक ७ का वडासदस्य श्याम कार्कीले ५० हजार र दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजकुमार योङयाबाट ५१ हजार रुपैया दिने घोषणा गरेका छन् ।