
नयाँ दिल्ली ,३ माघ (एजेन्सी ) । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ हालसम्म कोभिड संक्रमितको संख्या कुल तीन करोड ७३ लाख ८० हजार पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३८५ जना संक्रमितको ज्यान गएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो पटक थपिएका मृतकको संख्यासँगै भारतमा हालसम्म कुल ४ लाख ८६ हजार ४५१ जना संक्रमितको ज्यान गएको छ ।
यसबाहेक, कोभिड –१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या एक दिनमा ६.०२ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४६६ जना ओमिक्रोन भेरियन्टका संक्रमित थपिएसँगै यो भेरियन्टबाट संक्रमित हुनेको संख्या ८ हजार २०९ पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।
भारतमा तेस्रो लहरसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । हाल त्यहाँ सक्रिय संक्रमितको संख्या १६ लाख ५६ हजार ३४१ रहेको छ भने निको हुने दर ९४.२७ छ । साथै, दैनिक संक्रमण दर १९.६५ प्रतिशत रहेको छ ।
भारत सरकारले कोभिड –१९ को खोप लगाउन सुरु गरेको १ वर्ष पूरा भएको छ । त्यस अवधिमा एक अर्ब ५७ करोडभन्दा बढी खोपको डोज लगाइ सकिएको छ ।
विश्वभरीमा १९.३९ लाख नयाँ कोरोना संक्रमित
विश्वमा आइतबार १९.३९ लाख नयाँ संक्रमित फेला परेका छन् । ९.९१ लाख संक्रमित निको भएका छन् भने ३९९० को मृत्यु भएको छ । नयाँ संक्रमितको मामिलामा अमेरिका २.८७ लाख बिरामीका साथ पहिलो स्थानमा रहेको छ । यसैगरी २.७८ लाख मामिला सहित फ्रान्स दोस्रो स्थानमा र २.५७ लाख नयाँ संक्रमित सहित भारत तेस्रो स्थानमा छ ।
हिजो अमेरिकामा मात्रै ३४६ नयाँ मृत्यु भएको छ । सक्रिय संक्रमितको मामिलामा अमेरिका पहिलो स्थानमा रहँदै आएको छ । पुरै विश्वमा ५.५७ करोड सक्रिय संक्रमित रहेका छन् । यसमा अमेरिकामा मात्रै २.३० करोड छन् । पुरै विश्वमा हालसम्म करिब ३२.८७ करोड भन्दा बढी मानिस यस महामारीको चपेटामा आइसकेका छन् । यसमा २६.७४ करोड ठीक भइसकेका छन् भने ५५.५७ लाखले ज्यान गुमाइसकेका छन् ।