कांग्रेस उपसभापति शर्माको गृहनगर धुलाबारीमा दीपप्रज्वलन

झापा ,२ माघ । निर्वाचन आयोगले सभापति गगनकुमार थापा नेतृत्वलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दिएसँगै पार्टी पंक्तिमा उत्साह छाएको छ ।पुस अन्तिम साता काठमाडौको भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचित थापा नेतृत्वको कांग्रेसलाई आयोगले आज साँझ आधिकारिकता दिएपछि कांग्रेस नेता, कार्यकर्ताले देशका विभिन्न भागमा दीपप्रज्वलन र शुभकामना आदानप्रदान गरिरहेका छन् । यसैक्रममा उपसभापति विश्वप्रकाश शर्माको गृहनगर धुलाबारीमा दीपप्रज्वलन गरिएकोछ ।
दीपप्रज्वलन पछि आयोजित कोणसभामा नेपाली कांग्रेस झापा १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले आयोगको निर्णयको स्वागत गर्दै विधिको पक्षमा आयोग उभिएको बताए । उनले कांग्रेस विधि, प्रक्रिया र पद्धतिबाट चल्ने पार्टीले हो, यो मान्यता आयोगको निर्णयले पनि थप स्थापित गरेको उल्लेख गरे । सभापति बुढाथोकीले बिभाजित नभई एकताबद्ध हुन कांग्रेस नेता,कार्यकर्तालाई आव्हानसमेत गरे ।

दीपप्रज्वलन गर्दै कांग्रेस नेता, कार्यकर्ता यो जीत कसको कांग्रेसको, नेपाली कांग्रेस जिन्दावाद जस्ता नारा लगाएका थिए । कांग्रेस नेता, कार्यकर्ता स्वतस्फूर्त रूपमा भेला भएर खुशीयाली मनाउनुका साथै शुभकामना साटासाट गरेको दृश्य उत्सव जस्तै देखिन्थ्यो ।
निर्वाचन आयोगले कांगेसको आधिकारिकताका बारे गरेको फैसलाले कांग्रेसको हितमा भएको भन्दै दमकमा पनि पार्टीका कार्यकर्ताहरुले खुसीयाली मनाउदै शुभकामना साटासाट गरिएको नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ क्षेत्र न. ५ का सभापति जितु धिमालले बताए ।

Leave a Reply

Your email address will not be published.