झापा ,२ माघ । बाह्रदशी जेसीज वर्ष २०२५ ले आफ्नो कार्यकालमा सम्पन्न भएका वार्षिक गतिविधि सार्वजनिक गरेको छ । जेसीज पद हस्तान्तरणको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमार्फत वर्ष २०२५ का अध्यक्ष तीर्थ काफ्लेले आफ्नो कार्यकालमा गरिएका कार्यक्रम र उपलब्धि सार्वजनिक गरेका हुन् ।
अध्यक्ष काफ्लेका अनुसार आफ्नो कार्यकालमा बाह्रदशी जेसीजले ४४ वटा महत्वपूर्ण कार्यक्रम तथा गतिविधि सम्पन्न गरेको छ । संस्थापक महासचिव हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका काफ्लेले संगठनात्मक सुदृढीकरणसँगै नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको बताए ।
उनले जेसीज के हो, किन जेसीजमा आवद्ध हुने र जेसीजले व्यक्तिको क्षमता तथा नेतृत्व विकासमा कसरी सहयोग गर्छ भन्ने विषय समेटेर तालिमसहितको कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । “युवालाई सक्षम, जिम्मेवार र नेतृत्वशील बनाउने हाम्रो मूल उद्देश्य हो,” अध्यक्ष काफ्लेले भने ।
बाह्रदशी जेसीजले शिक्षा र मानसिक स्वास्थ्यलाई समेत विशेष प्राथमिकतामा राखेको जनाएको छ । विद्यार्थी लक्षित कार्यक्रम अन्तर्गत बाह्रदशी गाउँपालिका–७ स्थित गौरीशंकर माध्यमिक विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो ।त्यसैगरी ‘अध्यक्ष प्रकरण’ कार्यक्रम अन्तर्गत ‘परिवर्तनका लागि एकता’ कार्यक्रमको सुरुआत गरिएको छ । सो कार्यक्रमअन्तर्गत कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई समेटेर वक्तृत्व कला कार्यक्रम सञ्चालन गर्न थालिएको अध्यक्ष काफ्लेले जानकारी दिए ।
समुदायस्तरमा प्रत्यक्ष प्रभाव पार्ने उद्देश्यसहित ‘जेसीज धारा अभियान’ सुरु गरिएको छ । अभियान अन्तर्गत सार्वजनिक स्थानमा खानेपानीका लागि धारा जडान गर्ने कार्य प्रारम्भ गरिएको र बाह्रदशी गाउँपालिका–६ स्थित विहीबारे बजारमा सार्वजनिक धारा जडान गरिसकिएको छ ।
जेसीज सप्ताह अन्तर्गत गरिने नियमित कार्यक्रमलाई निरन्तरता दिँदै म्याराथनलगायत विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम सम्पन्न गरिएको छ । साथै ‘एक जेसी, एक विद्यार्थी’ कार्यक्रममार्फत विपन्न समुदायका १७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको जानकारी पनि सार्वजनिक गरिएको छ ।
बाह्रदशी जेसीजको स्थापना सन् २०२० मा भएको हो । सुरुङ्गा जेसीजको मातृ शाखाका रूपमा स्थापना भएको यस संस्थाका संस्थापक अध्यक्ष विगम श्रेष्ठ हुन् । हाल बाह्रदशी जेसीजमा ६७ जना सदस्य आवद्ध रहेको अध्यक्ष काफ्लेले बताए । कार्यक्रममा पूर्व अध्यक्ष पुष्प धमलाले वर्ष २०२५ ले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा व्यक्त गरे । उनले समाज रुपान्तरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै जेसीज धारा अभियान, लागू औषध नियन्त्रण, मानसिक स्वास्थ्यलगायतका कार्यक्रम अत्यन्त उपयोगी भएको अनुभूति भएको बताए ।
पत्रकार सम्मेलनको सञ्चालन वर्ष २०२५ की महासचिव सदिक्षा खड्काले गरेकी थिइन् । कार्यक्रममा माघ ३ गते जेसीज पद हस्तान्तरण गर्ने कार्यक्रम तय भएको जानकारी दिइयो । पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्ता खरेल रहने जनाइएको छ ।