दमक, १ माघ । किरात लिम्बू समुदायले आइतवार विभिन्न कार्यक्रम गरि कक्फेक्वा तङ्गनाम ५०८३ मनाएका छन् ।यसैक्रममा आइतवार झापाको कमल गाउँपालिका ५ सिम्लेमा लिम्बू जातिको नाच केलाङ प्रतियोगिता गर्नुका साथैं येले तङवे तथा कक्फेक्वा तङ्गनामको शुभकामना आदानप्रदान गरिएको आयोजक संस्था किरात याक्थुङ्ग चुम्लुङ्गका कमल अध्यक्ष दिवस सम्बाहाम्फेले बताए । प्रतियोगितामा कमलका ६ वटा वडा टोलीले सहभागिता जनाएको थियो ।
सोहि अवसरमा चुम्लुङ्गले सोहि कार्यक्रमस्थललाई मुन्धुमयक नामाकरण गरि घोषणा गरेको थियो । करिव १ विगाहा बढी क्षेत्रफलमा फैलिएको रतुवा खोलासंगैको त्यस स्थललाई संरक्षण गरि किरात लिम्बू समुदायको चिनारीका रुपमा विकास गरिने चुम्लुङ्ग कमल ६ का अध्यक्ष तेजु आङ्गदेम्बेले जानकारी दिए ।केलाङ प्रतियोगिता तथा छेलो खेलका विजयी टोलीलाई पुरस्कृत गरियो भने कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
चुम्लुङ्ग झापाका अध्यक्ष शेसेहाङ फियाकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमल ५ का वडाअध्यक्ष लालबहादुर विष्ट, चुम्लुङ्ग झापाका सल्लाहकार सुर्यप्राद योक्पाङदेन,समाजसेवी विरवहादुर चेम्जोङलगायतले बोलेका थिए ।सोहि अवसरमा आयोजक संस्थाले सहभागिहरुलाई सेलरोटी,तरुल दिएका थिए ।
यसैगरि,आइतवारनै दमकमा किरात भवन रायलि संघले पनि पारेर येले तङव तथा कक्फेक्वा तङ्गनाम ५०८३ मनाएका छन् । संघले आफनै सभाहलमा बर्सेनी कक्फेक्वा तङ्गनाम मनाउदैआएको संघका अध्यक्ष धिरेन लावतीले बताए ।
यस्तै, चुम्लुङ्ग दमकले यहि पुस ८ गते इलामको चुलाचुलीस्थित चपेटीमा वृहत वनभोजसहित सम्मान तथा कक्फेक्वा तङ्गनामको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको आयोजक संस्था किरात याक्थुङ्ग चुम्लुङ्ग दमकका देवेन्द्र मावोहाङ चेम्जोङले बताए । कार्यक्रम सम्पन्न गर्न चुम्लुङ्ग नगर सहसचिव चन्द्रबहादुर कन्दङ्गवाको संयोजकत्वमा एक व्यवस्थापन समिति गठन गरिएको जनाईएको छ । कार्यक्रममा ४ सय जति लिम्बू समुदायको सहभागिता रहने जनाईएको छ ।