पोखरामा यति विमान दुर्घटना : ६८ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

पोखरा ,१ माघ । पोखराको सेती नदीको खोंचमा आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६८ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ । दिउँसो ४ः१५ बजेसम्म एक बच्चासहित ६८ जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा. डा.भरतबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान गर्ने प्रक्रिया सुरु भएको छ ।

‍त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्धार तथा समन्वय केन्द्रले भने ६८ शव दुर्घटनास्थलबाट निकालिएको जानकारी दिएको छ । अन्यको खोजी जारी रहेको केन्द्रले बताएको छ ।
शवहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएसँगै दिवंगत यात्रुका परिवारजनले प्रतिष्ठान परिसर भरिएको छ । अस्पताल परिसरमा दिवंगत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू धेरै जसोको पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ । विमानमा चालक दलकासहित ७२ जना सवार थिए ।
छानबिन गर्न ५ सदस्यीय जाँच आयोग गठन
सरकारले पोखरामा आइतबार भएको यतिको जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैर(सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम छानबिन गर्न जाँच आयोग बनाउने निर्णय गरेको हो ।

जाँच आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहने छन् भने सदस्यहरुमा नेपाली सेनाका अवकाश प्राप्त उपरथि दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंङ थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।
आयोगलाई दुर्घटनाको जाँचका लागि ४५ दिनको समय तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनका लागि अपनाउनुपर्ने वा गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्ने छ । यसका साथै घटनाका बारेमा परिवारलाई सत्यतथ्य जानकारी दिन त्रिभुवन विमानस्थलमा कल सेन्टर बनाउने र पार्थिव शरीर आफन्तहरुले चाहेको स्थानमा पुर्‍याउन सहजीकरण गर्ने निर्णय पनि आकस्मिक मन्त्रिपरिषद् बैठकले गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।साथै बैठकले नेपालमा आन्तरिक उडान गर्ने सबै विमानहरुको प्राविधिक परीक्षण गर्नुपर्ने र त्यसको अनुगमन नागरिक उड्‍ययन प्राधिकरणले गर्ने पनि निर्णय गरेको छ ।

आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो
पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ ।आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए ।नेपाल नागरिक उड्डयन प्राधिकरणले आजको दुर्घटनामा हालसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

सोमबार शोक बिदा
सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषदको बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । “आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ, दिवङ्गप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ”, उनले भने , “शोकपूर्ण घटनाका सन्दर्भमा भोलि माघ २ गते शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published.