
धनकुटा,३० पुस । धनकुटाको धनकुटा नगरपालिका २ नागढुङ्गास्थित कोशीलोक मार्गमा टिपर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टिपर चालक प्युठान मानदवी गाउँपालिका १ का २७ बर्षीय भुवन फेडी मगर र सह चालक दाङ बबई गाउँपालिका ३ का २१ बर्षीय नविन बिक रहेका छन् ।
शुक्रवार बिहान ५ बजे धनकुटाबाट बसन्तपुरतर्फ वालुवाको लोड लिएर जाँदै गरेको बा.प्र.३–००१ क ०५४९ नम्बरको हाइवा टिपर बाटोभन्दा अन्दाजी २५ मिटर तल झरी दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमानै मृत्यु भएको थियो ।
घटनास्थलमा प्रहरी चौकी हिले र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटिएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाईएको प्रहरीले जनाएको छ ।
भद्रपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापाको भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट विहिबार राति एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । भद्रपुर–४ स्थित भद्रपुर–बनियान भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे१०प ४४१९ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
दुर्घटनाका गम्भीर घाइते कार्कीको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु उनले बताए । घटनामा संलग्न मोटरसाइकल र चालक कचनकवल–७ का माधवप्रसाद राजवंशी प्रहरीको नियन्त्रणमा रहेका छन् ।