मोरङ ,१ माघ । झापाको गौरीगञ्जबाट उपचारका लागि बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना भएकी ७८ वर्षीया अनसरी राजवंशी बाँदरको आक्रमणबाट घाइते भइन्।मुटु रोगकी बिरामी राजवंशी उपचारका लागि आइसियु लैजाने क्रममा अस्पताल परिसरभित्र बाँदरको आक्रमणबाट थप घाइते भएकी हुन्।
अस्पतालबाहिर एक फार्मेसीमा काम गर्ने राजवंशीका नाति लक्ष्मी चौधरीले मुटु रोगको उपचारका लागि ल्याएको अवस्थामा बाँदरले अनुहारमा कोतरेर थप चोटग्रस्त बनाएको बताए। उनले भने, ‘म औषधि लिन पसल गएको समयमा घटना भएछ। मैल प्रत्यक्ष नदेखे पनि, बाँदरको घाँटीमा सिक्री रहेछ। कसैले पालेको बाँदर भागेर आएको हुनसक्छ। तर, यसले गर्दा बिरामीलाई थप समस्या भएको छ।’
बुढीगंगा गाउँपालिकामा विगतबाटै बाँदर आतंक रहेको छ। गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ मा बाँदरका हुलले स्थानीयलाई अत्याधिक रुपमा दुःख दिँदै आएका छन्।
गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख कृष्ण भट्टराईले बाँदरले दिनभर स्थानीयले लगाएको बालीनाली खाने, घरमा राखिएको खाद्यान्नसमेत नष्ट गर्ने गरेको गुनासो आउने गरेको बताए। उनले भने, ‘केही समयदेखि बाँदरले स्थानीयलाई समस्या हुँदै आएको छ। पालिकाले उहाँहरुको समस्यालाई समाधान गर्न एक उपभोक्ता समिति बनाएर बाँदर नियन्त्रण अभियान चलाएको छ। यसक्रममा करिब १ सय ५० बढिको संख्यामा बाँदर पक्रेर वन कार्यालयलाई बुझाएका छौँ। त्यसयता केही समस्या कम भएको बुझाइमा छौँ।’
बाँदरले गाउँपालिकामा रहेको सिंघिया खोला आसपासको घना बास झ्याँङलाई आफ्नो बासस्थान बनाउँदै आएका छन्। बाँदरले स्थानीयले लगाएको तोरी खेती, मकै, फलफूल खाने र नष्ट गर्दै आएको स्थानीयको गुनासोसँगै पालिकाले बाँदर व्यवस्थापन उपभोक्ता समिति गठन गरी करिब ५ लाख रुपैयाँसमेत उपलब्ध गराएको छ।
समितिले भारतबाट बाँदर पक्रनका लागि केही सिपालुलाई ल्याएर १ सय ५० बढी बाँदर पक्रिएको शाखा प्रमुख भट्टराईको भनाइ छ। समितिका अध्यक्ष साझुलाल सुतिहारले बाँदरले अहिले पनि उस्तै समस्या दिँदै आएका गुनासो गरे। रातिको समय स्थानीय बास झ्याँङमा लुकेर बस्ने गरेका बाँदरले बिहानबाट गाउँ पसेर उपद्रो मच्चाउने गरेको सुतिहारको भनाइ छ। सामूहिक रुपमा हिँड्ने र घरभित्र पसेर सामान बिगार्ने बाँदरले खानेकुरा लिएर भाग्ने गरेको हुँदा स्थानीय पीडित हुँदै आएको उनले बताए।
बाँदर पक्रनका लागि गाँउपालिकाको सहयोगमा ४ जना भारतीय नागरिक ल्याएको बताउँदै उनले भने, ‘त्यसबेला करिब १ सय ५० बढी बाँदर पक्रिन सक्यौँ। तर, अझै पनि बाँदरको उपद्रो कम भएको छैन। समस्या हलका लागि निकायलाई पटकपटक भनिसक्यौँ।’
बाँदरलाई जालमा राखेर, वा धरापमा पारेर पक्रने गरेको उनले बताए। पक्रिएका बाँदरलाई स्थानीय बेलवारी र केराबारीको सामुदायिक वन छाडिएको उनको भनाइ छ।