धरान ,३० पुस । सुनसरीको धरान उपमहानगरपालिका–११ स्थित पुण्य मार्गमा मंगलबार साँझ खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । आफ्नै मामाका छोराको खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय रुपक राईको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईका अनुसार मंगलबार साँझ ६ः३० बजेतिर रुपकमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका रुपकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका मामाका छोरा ३३ वर्षीय रविन राईलाई नियन्त्रणमा लिएको छ । उनीहरूबीच के विषयलाई लिएर विवाद भएको थियो र हत्याको कारण के हो भन्नेबारे अझै खुल्न नसकेको डीएसपी राईले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरका विभिन्न भागमा खुकुरीको गहिरो चोट लागेको पाइएको छ । हत्यापछि फरार हुन खोजेका रविनलाई तत्कालै नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
मृतक रुपकको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।