पथरीशनिश्चरे ,२९पुस । मोरङको पथरीशनिश्चरे -९ स्थित सिंहवाहिनी मावि भूतपूर्व विद्यार्थी सञ्जालको प्रथम वार्षिक साधारणसभाले एक जना पाइलटसहित विद्यालयमा विशेष योगदान पुर्याउने ६ जनालाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा पूर्व विद्यार्थी पाइलट डा.भोगेन्द्र कठायतका साथै ०३५ सालमा स्थापना भएको सो विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गणेशबहादुर बस्नेत र गोपाल नेपाललाई पनि दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो । सभामा पूर्व अध्यक्ष स्व। धर्मानन्द पराजुली, र स्व. पुष्पबहादुर चौहानलाई समेत मरणोपन्त सम्मानित गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोले भूतपूर्व विद्यार्थीले थालेको अभियानको सफलताको शुभकामना व्यक्त गर्दै नगरपालिका पनि त्यसमा सधैं साथमा रहेको उल्लेख गरे ।
तेस्रो पुनर्मिलनसहितको सो कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष एवम् सो विद्यालयका पूर्व विद्यार्थी वीरबहादुर राईले जनप्रतिनिधिले गर्नुपर्ने काम सञ्जालले अघि बढाएको भन्दै प्रशंसा व्यक्त गरे ।
सञ्जालका अध्यक्ष राजकुमार राईले हालसम्मका गतिविधि, अक्षयकोष निर्माणको योजना सुनाउँदै भावनात्मक रुपले एकताको सन्देश दिने काममा सञ्जाल लागिपरहेको जनाए ।
सिंहवाहिनी मावि भूतपूर्व विद्यार्थी सञ्जाल
साथै अध्यक्ष राईले विद्यालय र विद्यार्थीको हितमा अक्षयकोष खडा गर्ने प्रस्तावित योजना अघि सारेपछि अक्षयकोषमा रकम जम्मा गर्ने र वचन दिनेहरुको उत्साह बढेको थियो ।
जसमा २ जनाले प्रक्षय रकम प्रदान गरे भने १९ जनाले रकम जम्मा गर्ने घोषणा गरे । २३ जनाबाट ३ लाख ५० हजार रुपैयाँ अक्षयकोषमा जम्मा हुने भएको छ । कुल ११ लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखिएको छ।
सञ्जाल कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक शारदादेवी बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी सन्जालकी उपाध्यक्ष प्रेम कुमारी ढकाल (राधा) ले जानकारी दिईन्।
जसमा ३ लाख ७५ हजार ७४ रुपैयाँ आय र २ लाख १३ हजार ६ सय ८८ रुपैयाँ व्यय भइ १ लाख ६२ हजार १ सय ८६ रुपैयाँ वचत रहेको जानकारी गराइएको छ । सञ्जालको अक्षयकोषका लागि यसअघिनै १ लाख ५० हजार रुपैयाँ त्यसबाहेक नै जम्मा भएको छ ।
विद्यालयकातर्फबाट विद्यालयका गतिविधि र समस्याबारे प्रधानाध्यापक एवम् सञ्जाल सल्लाहकार उमेशकुमार खड्काले प्रतिवेदन प्रस्तुत गरे।सञ्जालको पहलमा यसअघि विधालयमा खानेपानीको प्लान्ट जडान तथा विद्यालय रंगरोगन कार्य सम्पन्न भएको थियो ।