पूर्वका सन्थाल समुदायको सोहराय पर्व शुरु

दमक ,२५ पुस । पूर्वका आदिवासी लोपोन्मुख सन्थाल समुदायको आफ्नो महान पर्व ‘सोहराय’ शुरु भएको छ ।६ दिनसम्म मनाइने यो पर्व आदिवासी सन्थाल समुदायको बसोबास रहेको गाउँघरमा रमझम शुरु भईसकेको छ । यो पर्वमा सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गरि मनाउने गरिएको सन्थाल समुदायका अगुवाहरुले बताएका छन् ।
पूर्वका झापा, मोरङ र सुनसरी जिल्लाका ग्रामीण भेगमा बस्दैआएका यी समुदाय बाहुल रहेका अहिले गाउँ,बस्तीमा सडकदेखि घरहरू सिंगारिएका छन् ।
नेपाल आदिवासी सन्थाल उत्थान संघका केन्द्रीय अध्यक्ष सुन्दर बेस्राले पृथक सनातन ‘विदिन धर्म’ मान्ने सन्थाल समुदायले सांस्कृतिक विधिअनुसार ‘गड’ पूजा गरी यो पर्व मनाउन सुरू भएको बताए ।
उनका अनुसार पुष २५ गते देखि ३० गते सम्म मनाईने यो पर्वमा ६ दिन सम्म नयाँ लुगा लगाएर विभिन्न परिकार बनाउने, चेलिबेटीलाई माइतीमा बोलाएर ख्वाउने र पूर्वजको सम्झनामा पूजाआजा गर्ने गरिन्छ ।
सन्ंथाल जातिय सांस्कृतिक उत्थान समिति गौरीगञ्जका अध्यक्ष जेठा मुर्मुले भने, –‘प्रत्येक वर्ष यसरी नै ६ दिनसम्म यो पर्व हामीले मनाउँदै आएका छौं ,यो हाम्रो महत्वपूर्ण चाड हो । ’
उनका अनुसार सोहराय पर्वको पहिलो दिनलाई ‘उम‘ भनिन्छ । यस दिन सन्थाल समुदायका मानिसहरू नुहाईधुवाई घरआँगन सफा गरेर चोखिने काम गर्छन् । यसै दिन समुदायको मुख्य पुजारी नाइकीले गाउँको बाहिरपट्टि बनाइएको खुल्ला ठाउँमा विधिपूर्वक ‘गड’ पूजा गर्छन् । ‘गड’ पुजामा मराङ बुरू, गोसाई ऐरा र जाहेर ऐरा देउतालाई चामलको पिठो, मेथी, सुपारी, लड्डु र जाँड चढाएर पूजा गर्ने गरिन्छ । यो पर्वको दोस्रो दिनलाई ‘दाका’ भनिन्छ । दाकाकै दिन चेलीबेटी र पाहुनाहरूलाई निमन्त्रणा गरिएको हुन्छ र उनीहरूले ल्याएका कोसेली बितेका पूर्वजहरूलाई चढाइन्छ ।
सोहराय पर्वको तेस्रो दिनलाई ‘खुन्टोव’ भनिन्छ । यस दिन समुदायका मानिसहरूले विशेष गरी गाईगोरूसहित अन्य वस्तुभाउलाई जिस्काउँदै खेल्नुका साथै पूजापाठ गर्छन् । सोहरायको चौथो दिन गाउँका मुखियासहित समुदायका मानिसहरू समूह बनाएर घरघरमा गएर जाँडरक्सी खाने चलन छ । यो दिनमा जाली काम गरिने भएकाले सोहरायको चौथो दिनलाई ‘जाली’ नामकरण गरिएको बताइन्छ ।
सोहरायको पाँचौं दिनलाई ‘हाकुकाट्कोम’ को रूपमा मनाइन्छ । यस दिन स्थानीय खोलानाला तथा पोखरीबाट माछा र गंगटो मारेर ल्याउने र खाने गरिन्छ । यो पर्वको छैटौं तथा अन्तिम दिन शिकार गरेर मासु खाने चलन रहेको गौरीगञ्ज गाउँपालिकाका पूर्व जनप्रतिनिधि समेत रहेका जेठा मुर्मुले बताए ।
पहिलापहिला जंगलमा गएर शिकार गर्ने चलन रहे पनि पछिल्लो समय यो चलन लोप हुँदै गएर अहिले गाउँघरमै भएका जनावरलाई शिकार गरेर बाँडिचुँडी खाने चलन रहेको छ । ‘साकरात’का रूपमा मनाइने यस दिन गाउँबाहिरको खुला ठाउँमा केराको थम्मा गारेर तीर हान्ने चलन छ । सो ठाउँमा नाईकीको विशेष उपस्थितिमा पूजापाठ र मनोरञ्जन गरेपछि यो पर्व औपचारिक रुपमा समापन हुने गरेको सन्थाल उत्थान संघका केन्द्रिय उपाध्यक्ष मनोज वास्कीले बताए ।पछिल्ला जनगणना अनुसार नेपालमा यो समुदायको संख्या ५२ हजारको हाराहारीमा छ ।
यसैगरि, नेपाल आदिवासी सन्थाल उत्थान संघ गौरीगञ्जले सोहराय पर्वको अवसरमा मंगलवार विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
गौरीगञ्ज २ बघाहाचौधरीमा आयोजित कार्यक्रममा सहभागिहरुले आदिवासी जनजाति समुदाय भित्र पनि सन्थाल समुदाय पिछडिएको जाति भएकाले राज्यले संथाल समुदायलाई राज्यको मुलधारमा ल्याउन आवश्यक पहल कदमी लिनु पर्ने आफ्नो धारणा राखका थिए । कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीलगायतले संथाल समुदायको उत्थानका लागि आफ्नो सदैव साथ सहयोग रहने जोड दिए ।…

Leave a Reply

Your email address will not be published.