मुख्यमन्त्री कार्कीले गरे चार सदस्यीय मन्त्रिपरिषद् बिस्तार

झापा,२५ पुस । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराएलगतै उनले चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री कार्कीले सत्ता साझेदार दलबाट एक–एक जना मन्त्री नियुक्त गरेका छन् । जसअनुसार उनले नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्रीमा बिनाविभागीय मन्त्री नियुक्त गराएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख खापुङले शपथ गराए ।
प्रमुख सत्ता साझेदार दल शपथमा सहभागी नभएपछि मुख्यमन्त्री कार्कीले नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी भने तोकेका छैनन् ।
माओवादी अनुपस्थित
यसैबीच मुख्यमन्त्रीको शपथ ग्रहण कार्य नेकपा (माओवादी केन्द्र )प्रदेश १ संसदीय दलको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । संसदीय दलको बैठकले दलहरुबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने निर्णयमा असहमति जनाउँदै त्यसलाई नसच्याएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
बैठकले गरेको निर्णयका बारेमा जानकारी दिदै माओवादी केन्द्रका सांसद तथा प्रदेश १ का सचिव गणेशप्रसाद उप्रेतीले भने ‘प्रदेश सरकारको नेतृत्व आधा–आधा कार्यकाल हुनेगरी सहमति नभएसम्म तत्काल सरकारमा सहभागी नहुने निर्णय भएको छ ।’ बैठकले दलहरुबीच भएको सहमति सच्याउन पार्टी केन्द्रलाई आग्रह गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
माओवादी संसदीय दलले सरकारमा सहभागी नहुने निर्णय गरेसँगै प्रदेश प्रमुखले दिउँसो २ बजे आयोजना गरेको मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम सुरु गर्न केही ढिलाइ हुन पुगेको थियो ।

त्यसअघि माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णय सहमति विपरीत भएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताएका थिए । ‘माथिको निर्णयले माओवादी प्रदेश १ को अपमान भएको छ,’ उनले भने, ‘आलोपालोबारे लिखित सहमति नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौँ ।’
यद्यपि माओवादी केन्द्रले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न समर्थन भने गरेको छ । माओवादी सरकारमा सहभागी नभएको अवस्थामा पनि मुख्यमन्त्रीसँग सरकार गठनका लागि आवश्यक ४७ जना सांसदको बहुमत भने प्राप्त हुनेछ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३ सांसद छन् ।

Leave a Reply

Your email address will not be published.