-जहदामा पनि सार्वजनिक विदा
गौरीगञ्ज,२५ पुस । झापाको गौरीगञ्ज गाउँपालिकाले आदिवासी लोपोन्मुख सन्थाल समुदायको मुख्य पर्व सोहरायमा आज सोमबार एक दिन स्थानीय विदा दिएको छ । गाउँपालिकाले सोमबार एकदिन पालिकाभर स्थानीय विदा दिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
गाउँ कार्यपालिकाको २१ पुषमा बसेको बैठकले पुस २५ गतेका दिन सन्थाल समुदायको सवैभन्दा ठुलो चाड सोहराय पर्व परेका कारण गाउँपालिका कार्यालय अन्तर्गतका सबै कार्यालय, शैक्षिक संस्था र अन्य संघ संस्थाहरुमा स्थानीय विदा दिने निर्णय गरेको गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले बताईन् ।
गौरीगञ्ज गाउँपालिकामा लोपोन्मुख सन्थाल समुदायको सघन बसोबास रहेको पालिका हो । पूर्वी तराईका झापा, मोरङ र केही सुनसरीमा समेत सन्थालहरुको बसोबास रहेको र सन्थालहरु सोहराय पर्व मनाउँदै आएका छन् ।
यसैवीच, शनिवार गौरीगञ्जमा सोहराय पर्वको अवसरमा विभिन्न सांस्कृतिक नृत्यसहित सम्मान कार्यक्रमको आयोजना गरि मनाईएको नेपाल आदिवासी सन्थाल उत्थान संघ गौरीगञ्जका अध्यक्ष राईसिंह हेमरमले बताए ।उक्त कार्यक्रम मोरङ्ग क्षेत्र न.५ बाट निर्वाचित समानुपातिक संघीय सांसद सोनु मुर्मुको प्रमुख आतिथ्यता रहेको थियो ।
जहदामा पनि सार्वजनिक विदा
मोरंग । जहदा गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ । सन्थाल समुदायको सोहराय पर्वको अवसरमा गाउँपालिकाले आज एक दिनका लागि स्थानीय सार्वजनिक विदा दिएको हो ।
पालिका अन्तर्गतका कार्यापालिका, वडा कार्यालय र स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्य चौकीहरुमा विदा हुने गाउँपालिकाले जनाएको छ । तर आकस्मिक सेवाहरु सञ्चालनमा आउने गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साहले बताए । उनले सो पर्व मान्ने सबै समूदायलाई शुभकामना समेत दिएका छन् ।