दमक,२५ पुस । जिल्लाको मेची नगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलमा काम गर्ने क्रममा चार तला माथिबाट खस्दा एक श्रमिकको शुक्रबार साँझ मृत्यु भएको छ । यसरी ज्यान गुमाउनेमा सप्तरीको खडक नगरपालिका–१ सिसुवाबेल्ही निवासी अन्दाजी २१ वर्षका नरेशकुमार मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार न्यु इन्फ्रा हेवन कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ‘ईस्टन होटल’को चौथो तलामा फलामको पाइप सार्ने क्रममा मण्डल अचानक भुइँमा खसेका थिए । तलाबाट खस्दा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका मण्डललाई उपचारका लागि स्थानीय मेची(आम्दा अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याएको करिब आधा घण्टापछि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । शव अस्पतालमै छ । आफन्त बोलाएर शव जिम्मा दिइने प्रहरीको भनाइ छ ।