विराटनगर,२४ पुस । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।सभामुख पदमा एक मात्र उम्मेदवारी परेको भन्दै मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।
सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेपछि एमालेले पनि विष्टलाई समर्थन गरेको थियो । झापाको गौरादह निवासी ७० वर्षीय विष्टलाई सभामुख बनाउन राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला प्रस्तावक र राप्रपाकै प्रेमराज थाम्सुहाङ समर्थक रहेको प्रस्ताव दर्ता भएको थियो ।
गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो । आज बिहान बसेको कार्यव्यवस्था समितिको बैठकले आजैसकिने गरि सभामुखको निर्वाचन कार्यक्रम तालिका प्रकाशित गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा बिहान १० बजे बसेको प्रदेशसभा बैठकले निर्वाचन सम्बन्धि तालिका प्रकाशित गर्ने प्रस्ताव पारित गरेको हो । सोही प्रस्ताव अनुसार सार्वजनिक भएको निर्वाचन तालिका अनुसार आज दिउँसो ३ः०० बजे निर्वाचन राखिएको थियो । सो सूचना अनुसार विष्टले उम्मेद्बारी दिएका थिए । उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख सिर्जना दनुवारले निर्विरोध निर्वाचित गरेको घोषणा गरिन् ।