झापा ,२१ पुस । झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई रू एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ ।जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आठ सय ८३ हात्तीपीडितलाई रू एक करोड ३७ लाख ३८ हजार ६४ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन अधिकृत हिमाल पाठकले जानकारी दिए । यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले ज्यान गुमाएका छन्, भने एउटा हात्ती मृत फेला परेको उनले बताए ।
हात्तीको आक्रमणबाट सख्त खाइते दुई जनालाई चार लाख, मृतक चार जनाको परिवारलाई रू ४० लाख, १० वटा पशुधन क्षतिवापत रू एक लाख, एक सय ८४ परिवारले भण्डार गरेको अन्नमा क्षति भएबापत रू १४ लाख ५३ हजार सात सय ६४, दुई सय ३५ वटा घरगोठमा क्षति भएबापत रू ३७ लाख २२ हजार तीन सय र चार सय ४८ किसानको अन्नबालीमा क्षति पु¥याएबापत रू ४० लाख ६२ हजार क्षतिपूर्ति उपलब्ध गराइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
राहत उपलब्ध गराइएकामध्ये गत आर्थिक वर्ष २०८१÷८२ का सात सय दुई जना रहेका छन् भने चालु आवमा हात्तीबाट पीडित बनेका एक सय ८१ जनालाई राहत प्रदान गरिएको हो थप ११ परिवारलाई रू २१ लाख राहतका लागि सिफारिस गरिएको छ । केही दिनमै उनीहरुलाई समेत राहत रकम उपलब्ध गराइने पाठकले बताए ।