झापा ,२० पुस । कोशी प्रदेशमा आगलागीका घटना अत्यधिक बढेको छ ।प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार विगत डेढ महिनायता कोशीका १४ जिल्लामै आगलागीका घटना भएका छन् । यो अवधिमा जम्मा २ सय १७ आगलागी घटना भए । जसमा मंसिरमा १ सय ४५ र पुस १५ सम्म ७२ आगलागी घटना भएका छन् ।
आगलागीबाट ३ जनाको ज्यान गयो भने १५ घाइते भए । मंसिरमा करिब ९ करोड ४० लाख र पुषमा ३ करोड ४३ लाख गरी कुल करिब १२ करोड ४७ लाख रुपैयाँ बढीको भौतिक सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापामा ५७, इलाममा ९, पाँचथरमा २, ताप्लेजुङ २, मोरङमा ५८, सुनसरीमा ३७, धनकुटा, तेह्रथुम र भोजपुरमा ४–४ घटना भएको छ । त्यस्तै उदयपुरमा १६, खोटाङ ७, ओखलढुंगा ३ र सोलुखुम्बुमा ८ आगलागीका घटना भएको प्रहरीले जनाएको छ ।
धेरैजसो घटना विद्युत् सर्टका कारण भएको पाइएको छ । बालबालिकाले हेल्चेक्र्याई गर्दा पनि कतिपय आगलागीका घटना भएको प्रहरीले जनाएको छ । परालको भुस बाल्दा, वेल्डिङ गर्दा, जंगलमा चुरोट खाएर जथाभावी मिल्काउने जस्ता लापर्वाहीले धेरैजसो आगलागी भएको पाइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत आगलागी पीडितलाई क्षतिपूर्ति उपलव्ध गराउने जनाए ।
गोठमा आगलागी हुँदा २ लाखबढीको क्षति
मेचीनगरको एक गोठमा आगलागी हुँदा २ लाखबढीको क्षति भएको छ ।मेचीनगर–८ सुन्दर टोलका केशवप्रसाद तिम्सिनाको टिनको छानो भएको गाईगोठमा खोले पकाउने क्रममा बिहीबार राति १ बजे आगलागी भएको थियो ।
आगलागी भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय नकलबन्दा प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी, स्थानीयबासी र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आगलागी राति १.३० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट गाईगोठमा बाँधेको एउटा बहर मरेको छ । त्यस्तै एउटा बहर, दुई वटा गाई आगोले जलेर घाइते भएका छन् । गोठमा रहेको काठपात र गोठ आंशिक रुपमा क्षति हुँदा २ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।