फिदीम,२० पुस । पाँचथर फिदिममा भएको आगलागीमा जलेर नन्द -भाउजूको मृत्यु भएको छ। गएराति फिदिम नगरपालिका ८ घमाउनेटारका मेखबहादुर गुरूङको घरमा भएको आगलागीमा परी उनका छोरी २२ वर्षीया ममता गुरुङ र बुहारी २३ वर्षीया आसाङसिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाका अनुसार करिव राति १ बजेतिर अचनाक भएको आगलागीमा परी मेखबहादुर गुरुङ ररविजेन्द्र गरुङ घाइते भएका छन्।
ढुङ्गा माटो, काठले बनेको टिनको छानो भएको तीनतले घरमा भएको आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन्। आगलागीबाट पूर्ण रुपमा घर क्षति हुँदा घरमा भएको अन्नपात,गरगहना,किराना पसलसहित जलेर नष्ट भएको छ । आगलागीबाट करीब ५० लाख जतिको क्षति भएको प्रहरी कार्यालयले जनाएको छ ।
विधुत सर्ट आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
आगलागी नियन्त्रणका लागि अस्थायी प्रहरी चौकी तमाखे रानीटारबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा खटिएको ५ जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक हरि खतिवडाको कमाण्डमा थप २५ जना प्रहरी परिचालन गरिएको थियो ।
स्थानीयवासी,२ वटा वारुणयन्त्र तथा प्रहरीको सक्रियतामा आगलागी ३ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । अग्नि पीडितहरुलाई छिमेकमा रहेको एउटा घरमा राखिएको छ । फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले,पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरे,फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपाने लगायतको टोली घटना स्थलमा पुगेर उनीहरुलाई जिल्ला दैविक विपत्त ब्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मार्फत खाद्यन्न तथा लत्ताकपडा दिने तयारी भइरहेको जनाइएको छ ।