आउँदो शनिबार केर्खामा पनि चासोक मनाइँदै

केर्खा ,१८ पुस । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा अघिल्ला वर्ष झै यसवर्ष पनि यहि पुस २१ गते शनिवार लिम्बू समुदायले चासोक तङनाम मनाउने तयारी गरेका छन् ।
आयोजक समिति याक्थुड युवा मञ्च कमलले आज पत्रकार सम्मेलन गरि आउँदो शनिबार हुने बृहत साँस्कृतिक कार्यक्रमसहितको चासोक तङनाम मनाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । केर्खा खेल मैदानमा हुने यसवर्षको चासोक कार्यक्रम आठौ संस्करण हो ।
पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक आशिष लेछर्वो लिम्बूले किराँत लिम्बू समुदायले चासोकलाई विभिन्न जातजाति र भाषभाषीहरुसँग जोडदै आपसी सदभावसहित शुभकामना साटासाट गरेर मनाउने तयारी गरिएको बताए ।
चासोक मनाउन लेछर्वोको अध्यक्षतामा गठित मूल आयोजक समितिको उपाध्यक्षमा प्रकाश आङवो, सचिवमा मनोज खेवा, सहसचिवमा कुमार इम्सुहाङ र कोषाध्यक्षमा बबिता फोम्बो रहेका छन् ।
त्यस्तै, कार्यक्रमको संयोजकमा भानु सुब्बा र सदस्य सचिवमा केशवबहादुर लिम्बू रहेका छन् ।
त्यसैगरि, आर्थिक उपसमिति संयोजकमा बबिता फोम्बो, प्रचार प्रसार समितिको संयोजकमा विरेन्द्र याक्थुङबा र सदस्य सुमन केरुङ, कला साँस्कृतिक संयोजकमा महेन्द्रकुमार लिम्बू, अतिथि सत्कार संयोजकमा पार्वता लिम्बू, स्टल व्यवस्थापन संयोजकमा सुरेन्द्र पन्धाक रहेका छन् भने प्रमुख सल्लाहकारमा बसन्तराज सुब्बा लगायत रहेका छन् ।
सो अवसरमा केरखा र आसपास क्षेत्रका पालिकाहरुबाट केलाङ च्याब्रुङ नाच प्रतियोगितात्मक रुपमा सहभागि गराइनेछ भने राई, मगर, गुरुङ, सन्थाल लगायतका विभिन्न जातजातिका मौलिक संस्कृति झल्किने नाचहरु समेत प्रस्तुत गरिने अध्यक्ष लेछर्वोले जानकारी दिए ।
पत्रकार सम्मेलनमा संस्थाका सल्लाहकार सुरज साँवाले याक्थुड चुम्लुङले देशव्यापीरुपमा चासोक मनाएको भए पनि यो पर्व प्रकृतिसँग जोडिएको हुँदा हिउँदभरनै मनाउन सकिने उल्लेख गरे ।
आयोजक समितिको संरक्षकका रुपमा रहेका स्थानीय शैक्षिक व्यक्तित्व गौरीमान फागोले लिम्बू समुदायको विशेष पर्वका रुपमा रहेको चासोक साझा पर्वका रुपमा मानिन थालिएको बताए । केर्खामा चासोक मनाउने क्रम अहिले मात्रै नभएर पहिल्यैदेखिनै भएको उल्लेख गर्दै उनले यसको क्षेत्र फराकिलो बनिरहेको र यसले विभिन्न जातजाति, भाषाभाषीहरुबीच आपसी सदभाव र सहिष्णुताको भावना बिकास गराउन मद्धत पुरयाउने विचार व्यक्त गरे ।
कार्यक्रममा याक्थुङ लिम्बू मुन्धुमविद यासेली योङहाङको प्रमुख आतिथ्य रहनेछ भने गायिका सुनिता थेगिम, चर्चित गायक ताराप्रकाश लिम्बू, सायल लिम्बू, सुनिता संयोग, सिद्धान्त खड्का, ममता हिङमाङ,राजन पन्धाक, चन्द्र फुरुम्बो, दुर्गा इङनाम, अम्वर योङहाङ , गीता नेम्वाङ र दुर्गा तुम्साले आ–आफनो कला प्रस्तुत गर्ने जनाइएको छ । सो कार्यक्रममा करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र मुख्य प्रायोजकका रुपमा रेडबुल रहेको जनाइएको छ ।
कार्यक्रममा स्वेच्छिक रुपमा विभिन्न सहयोगी दाताहरुले देशविदेशबाट सहयोग गरिरहेको जनाईएको छ । कार्यक्रम सम्पन्न गरेर बचत भएको रकम संस्थाको कोषमा राखिनुका साथै सामाजिक कामहरुमा खर्चिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.