अब कमलका सामुदायिक बिद्यालयमा पनि नृत्य प्रशिक्षण

दमक,१८ पुस । झापाको कमल गाउँपालिकाले पालिका भित्रका सामुदायिक बिद्यालयमा अध्ययनरत बालबालिकाहरुको नृत्य कला प्रतिभा बिकास गराउने उद्धेश्यले घुम्ती नृत्य प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाले नृत्य प्रशिक्षणमा दक्ष प्रशिक्षकको बन्दोबस्ती गरेर आलोपालो सबै बिद्यालयमा रहेका बालबालिकाहरुको इच्छा अनुसार नृत्य कला सम्बन्धि प्रतिभा बिकास गर्ने योजना ल्याएको पालिकाले जनाएको छ ।
पालिकाले चालू आर्थिक बर्षको बार्षिक योजना तथा कार्यक्रममानै यो योजनालाई समावेश गरेका कारण सोको कार्यान्वयनका लागि नृत्य प्रशिक्षक नियुक्ती गर्ने प्रकृया अघि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले बताए ।
उनका अनुसार पालिकाले तालिका बनाएर नृत्य प्रशिक्षकलाई आलोपालो सबै बिद्यालयमा सो कामका लागि खटाउनेछ । पुष २६ गते सम्म गाउँपालिकाद्धारा तोकिएका मापदण्ड पुरा गरेका नृत्य प्रशिक्षकबाट सोका लागि निवेदन माग गरिएको छ । सामुदायिक बिद्यालयमा सरकारी तवरबाटै नृत्य प्रशिक्षणको व्यवस्था गर्नेमा कमल गाउँपालिका नेपालमै पहिलो हुन सक्ने गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको दाबी छ ।
अध्यक्ष राई भन्छन–‘सामुदायिक बिद्यालयमा बिद्यार्थीको आकर्षणका लागि केवल पाठ्यपुस्तक मात्रै काफी हुन सक्दैन । अहिलेका बालबालिका पढाईसँगै मनोरञ्जनमा पनि रुची राख्छन । उनीहरुको रुची अनुसारको वातावरण बिद्यालयमा बनाउँदै लगिने प्रयास गर्न खोजेका हौं ।’
उनले नृत्य कलाको माध्यमबाट संसारभर चिनाउन कलाकारहरुले योगदान गर्न सक्छन, त्यो प्रतिभाको बिकास गर्ने अवसर हामीले प्रदान गर्न सक्नुपर्छ भन्ने उद्देश्यले यस किसिमको कार्यक्रम ल्याईएको बताए ।

Leave a Reply

Your email address will not be published.