आदिवासी जनजाति महिला महासंघको प्रदेश अध्यक्षमा गणेश चयन

बिर्तामोड, १८ पुस । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ प्रदेश नम्बर–१ को अध्यक्षमा द्रौपदी गणेश चयन भएका छन् । शुक्रबार झापाको बिर्तामोडमा सम्पन्न महासंघ प्रदेश समन्वय परिषदको तेस्रो अधिवेशनले गणेशलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले गणेशको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रेखा भुजेल, सचिवमा देवकुमारी राई, सहसचिवमा अञ्जु उराउ र कोषाध्यक्षमा रञ्जना मेचे चयन भएका छन् । त्यस्तै समितिको सदस्यमा फूलमाया तामाङ, सुनिता कुमारी ताजपुरिया, ममता राजवंशी र सबिना धिमाल चयन भएको महिला महासंघका केन्द्रीय सचिव सनम राजवंशीले जानकारी दिइन ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको केन्द्रीय समितिको सहयोग तथा प्रदेश समन्वय परिषदको आयोजनामा सम्पन्न भएको हो । प्रदेश अध्यक्ष मातृका राईको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष ङिमी शेर्पा थिए । अधिवेशनमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका प्रदेश अध्यक्ष माया राई, महिला महासंघका केन्द्रीय सचिव नुमा मेचे, नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी लगायतले शुभकामना राखेका थिए ।

अधिवेशनमा महिला महासंघ प्रदेश समितिका सहसचिव रेखा भुजेलले स्वागत मन्तव्य राखेकी थिइन् । अधिवेशनमा जातीय संस्थाका महिला प्रतिनिधि तथा जिल्ला समितिका प्रतिनिधिहरुको सहभागीता थियो । महासंघमा आदिवासी जनजाति समुदायका ५० वटा जातीय संस्थाका महिला संघहरु आवद्ध छन् । नवनिर्वाचित समितिलाई शुक्रबार नै महासंघका केन्द्रीय अध्यक्ष शेर्पाले सपथग्रहण गराएका थिए ।

Leave a Reply

Your email address will not be published.