झापा ,१६ मंसीर। नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने सर्वसम्म निर्णय गरेको हो।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा आगामी पुसमा महाधिवेशन गर्ने गरी तयार पारिएको कार्यतालिका निर्णयार्थ पेस गरेका थिए ।महाधिवेशनको मितिसँगै कार्य समितिले त्यसका लागि गर्नुपर्ने कार्यतालिका पनि अनुमोदन गरेको छ। अनुमोदित कार्यतालिका अनुसार कांग्रेसले नयाँ सदस्यताका लागि वडा तहसम्म मंसिर २४ गतेभित्र फारम पठाउने निर्णय गरेको छ ।
कांग्रेसले क्रियाशिल सदस्यता टुंग्याएर सभापति वा कार्यवाहक सभापतिले पुस १४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने कार्यतालिका छ ।
प्रकाशित कार्यतलिका अनुसार गाउँ अधिवेशन पुस १६ गते, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पुस २१ गते, सात वटै प्रदेश अधिवेशन पुस २३ र २४ गते हुनेछ । पुस ८ गते भित्र सबै निर्वाचन क्षेत्र, नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गरिसक्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशिता, नयाँ युवा पुस्ता, अन्य पार्टीबाट प्रवेश गरेकाहरुलाई समेत क्रियाशील सदस्यता दिने निर्णय कांग्रेसले गरेको छ ।
विदेशस्थित जनसम्पर्क समितिबाट पनि प्रतिनिधित्व हुने व्यवस्था भएको हुनाले पुस १५ गते भित्र विदेशस्थित जनसम्पर्क समितिको पनि अधिवेशन गरिसक्नुपर्नेछ ।
कांग्रेसले अहिलेको कार्यसमितिको अवधि माघसम्मका लागि थप गरेको छ । कांग्रेसमा विशेष महाधिवेशन कि नियमित भन्ने विवाद हुँदा असोज २८ गते सुरु भएको बैठक सोमबारसम्म लम्बिएको थियो।