कमल -५ का ज्येष्ठहरु संगठित

दमक,१४ मंसीर ।  झापा, कमल गाउँपालिका ५ मा ज्येष्ठहरु संगठित भएका छन् । नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको संयोजनमा आइतवार उपशाखा परिषरमा सम्पन्न ज्येष्ठहरुको वृहत भेलाले सामाजिक अगुवा मुक्तिनाथ कार्कीको अध्यक्षतामा ज्येष्ठ नागरिक समिति गठन गरिएको हो । कमल -६ निवासी कार्की रेडक्रस उपशाखाका जग्गादाता हुन् ।
ज्येष्ठहरुको हितको निम्ति काम गर्ने उद्देश्यले जग्गादाता कार्कीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको रेडक्रस उपशाखाका सचिव पारषमणि राईले बताए ।
गठित समितिको उपाध्यक्षमा इन्द्रमान चाम्लिङ,सचिवमा नयनदिपक खनाल र कोषाध्यक्षमा अभिमन्यु दाहाल रहेका छन् । यसैगरि, सदस्यहरुमा विष्णु थापा, माया केसी, डम्बरकुमारी दंगाल,तुलसी प्याकुरेल र जयप्रसाद गुरागाई रहेका छन् ।

सो भेलामा रेडक्रस उपशाखा सभापति चन्द्र साह लगायतले ज्येष्ठहरुको हितका निम्ति विशुद्ध संस्थानै गठन गरि अघि बढाउन रेडक्रसले काम गर्ने औल्याए । उनका अनुसार गाउँपालिका र सहारा नेपालको साझेदारीमा ज्येष्ठ भवन निर्माण गरिने छ । ज्येष्ठ भवन रेडक्रसको जमीनमा निर्माण हुने र त्यसका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

त्यस भेलामा रेडक्रस उपशाखाकी उपसभापति सोनी तामाङ, सचिव पारषमणि राई, उपसचिव विष्णु सुब्बा , सदस्यहरु केशव तिम्सीना,दिलु गुरुङ,एकराज प्याकुरेल ,रेडक्रस उपशाखाका पूर्व सल्लाहकारहरु ऋषिकेस सुवेदी, ललित वान्तवा , इन्द्रमान चाम्लिङ लगायत ज्येष्ठहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
सोहि अवसरमा रेडक्रसले ज्येष्ठहरुको उच्च रक्तचापको परीक्षण गर्नुका साथैं निशुल्क सुगर जाँच गरेको थियो । रेडक्रसले गत बैशाखदेखि विपन्नलाई लक्षित गरेर त्यहाँ ल्याव परीक्षण सेवा सञ्चालनमा ल्याएको छ । शनिवारवाहेक साता भरि विहान ७ वजेदेखि मध्यान्ह २ वजेसम्म ल्याव सेवा उपलव्ध रहेको रेडक्रस उपशाखाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.