कमल ,२५ कार्तिक । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको देशव्यापी जनजागरण अभियान अन्तर्गत झापाको कमल गाउँपालिकामा मङ्गलबार मोटरसाइकल र्यालीको आयोजना गरेको छ ।
कमल- ५ स्थित पाडाजुँगीबाट सुरु भएको र्याली दहिचौक, छलफल चौक, समायगढ,बाँसवारी, सुनारा,क्याम्पा हुँदै केर्खाबजार पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा कमलका विभिन्न टोल, गाउँ क्षेत्रका हजारौं एमाले कार्यकर्ता, समर्थक र युवा सहभागी रहेका थिए । मोटरसाइकलमा सहभागीले पार्टीको झण्डा, ब्यानर र नाराबाजी सहित र्यालीमा उत्साहपूर्वक सहभागिता जनाएको एमाले पार्टीका गाउँकमिटी अध्यक्ष हरि ढकालले बताए ।
मोटरसाईकलर्याली पछि केर्खामा आयोजित संक्षिप्त कोणसभामा एमाले झापा इन्चार्ज रोमनाथ ओलीले अहिलेको अन्तरिम सरकार संवैधानिक नभएको भन्दै यो सरकारले फागुन २१ को घोषणा गरेका चुनाव गराउने कुनै आधार नभएको र अहिलेसम्म चुनावकालागी बतावरण समेत बन्न नसकेको आरोप लगाए ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको औचित्य र उद्देश्यप्रति प्रश्न उठाउँदै उनले उक्त आन्दोलन नियोजित र उद्देश्यपूर्ण रूपमा एमालेविरुद्ध गरिएको भन्दै यस विरुद्ध जनतालाई जागरुक बनाउन अभियान सञ्चालन गरिदै आएको उल्लेख गरे ।
शिवसताक्षीमा पनि मोटरसाइकल र्याली
एमालेले सञ्चालन गरिरहेको देशव्यापी जनजागरण अभियान अन्तर्गत झापाको शिवसताक्षीमा मङ्गलबार मोटरसाइकल र्याली सम्पन्न भएको छ । र्यालीमा नगरका विभिन्न टोल र गाउँका हजारौं कार्यकर्ता, समर्थक र युवाको उत्साहपूर्ण सहभागिता रहेको पार्टीले जनाएको छ ।
दुधेबाट सुरु भएको र्याली झिलझिले, बोलोचोक र जनता हुँदै शिवगञ्जमा पुगेर कोणसभामा परिणत भएको थियो। पार्टीका नगर सचिव लक्ष्मी गुरागाईंका अनुसार करिब एक हजार मोटरसाइकल र तिनमा सवार १ हजार ३ सयभन्दा बढी कार्यकर्ता र समर्थकले पार्टीको झण्डा, ब्यानर र नारा बोकेर सहभागिता जनाएका थिए।