
काठमाण्डौ,३२ साउन (एजेन्सी ) । विद्रोही तालिबान लडाकु अफगानिस्तानको राष्ट्रपतिको कार्यालयमा प्रवेश गरेका छन्। यससँगै उनीहरुले देश कब्जामा लिएको घोषणा गरेका छन्।
आइतबार बिहान तालिबान लडाकु राजधानी काबुलतिर लागेका थिए। दिनभर अफगान सरकार र तालिबानबीच सत्ता हस्तन्तरणका लागि वार्ता भएको थियो।
अफगान राष्ट्रपति असरफ गनीले आइतबार साँझ देश छोडेका थिए। उनले रक्तपात रोक्न देश छाडेको जनाएका छन्।
त्यसलगत्तै तालिबान कमान्डर र लडाकु राष्ट्रपति कार्यालयले प्रवेश गरेका हुन्। उनीहरुले राष्ट्रपति बस्ने कुर्सीमा बसेर खिचेका तस्वीर बाहिर आएका छन्।विद्रोहमार्फत २० वर्षपछि पुनः सत्तामा पुगेको तालिबानले आज ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
राष्ट्रपतिको कार्यालय प्रवेशपछि तालिबान प्रवक्ताले देश कब्जामा लिएको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। अब युद्ध सकिएको समेत तालिबान प्रवक्ताले जनाएका छन्।
अमेरिकी सेना फिर्ता भएपछि तालिबानले शहर कब्जा लनि शुरू गरेको थियो। तालिबानले अमेरिकी सेना फिर्ता भएको केही दिनमै अफगानिस्तानलाई कब्जामा लिएको छ।