लोकगायक एलपी जोशीको निधन

दमक,११साउन । झापाको दमक निवासी बरिष्ठ लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद जोशी) को ८८ वर्षको उमेरमा निधन भएको छ । आज बेलुका दमक १ स्थित आफनै घरमा खाना खाए लगत्तै अकस्मात बेहोस भएका उनलाई दमक अस्पताल पुरयाँउन साथ चिकित्सकहरुले विहिबार ८ वजे राति निधन भएको घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।
वि.सं.१९९३ सालमा धनकुटा ६ बीचबजारमा जन्मिएका उनी चार दशकदेखि दमकमा बसेर लोकगीत,संगीत तथा लोक संस्कृतिको क्षेत्रमा क्रियाशील थिए ।
७ जना दाजुभाइका छैटौं सन्तानका रुपमा जोशीका ५ दिदीबहिनी रहेको उनका कान्छा भाइ नारायण जोशीले बताए । बाल्यकालदेखि नै गीतसंगीत र फूटबल खेलका शौखिन उहाँ जीवनपर्यन्त लोकगायनमा क्रियाशील भएको उनका भाई नारायण बताउँछन् ।
परिवार स्रोतका अनुसार सुगरको नियमित औषधि खानेबाहेक जोशीको अन्य स्वास्थ्य समस्या थिएन । विस २०१३ सालमा पहिलो गीत रेकर्ड गराएका जोशीका रेडियो नेपालमा दर्जनौ गीतहरु रेकर्ड छन् । उनका धेरै गीत मध्ये रिटिङ रिटिङ…बोलको लोकगीतलाई एल्वमनै निकालेर निकै चर्चित भएको थियो । यो संगै उनको ‘ओल्लो खोलो पल्लो खोलो’भन्ने बोलको गीतले चर्चा पाएको थियो ।
लोकगीत संगीतकै क्षेत्रमा योगदान पु¥याँएवापत विस २०२२ र २०२९ सालमा उत्कृष्ठ लोक गायक सम्मान, २०६७ सालमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सम्मान, २०६२ सालमा वाणि प्रकाशन जस्ता ख्याति प्राप्त संघसंस्थाहरुबाट सम्मान तथा दर्जनौ पुरस्कार प्राप्त गरेका उनले २०५० सालमा लोक गीत, लोक गजल र कविताको संगालो ‘अनावृत्ति’ कृति निकालेका थिए ।
गत साउन १ गते जनकविकेशरी धर्मराज–सावित्री थापा लोकगीत–सङ्गीत पुरस्कारबाट लोक संस्कृतिकर्मी जोशीलाई सम्मान प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published.