सर्पको डसाई, सावधानी तथा यसको उपचार

-डा. मिलन बज्राचार्य
नेपालजस्तो जैविक विविधता भएको देशमा सर्प एक महत्त्वपूर्ण जीव हो जसलाई धेरैले डरलाग्दो रूपमा बुझ्ने गर्छन् । तर वास्तवमा सर्प हाम्रो पारिस्थितिक प्रणालीको सन्तुलन कायम गर्न सहयोग गर्ने आवश्यक प्राणी हो । सर्पले मुसा, भ्यागुता, चराचुरुङ्गीलगायतका साना जनावर खाएर वातावरण सफा राख्न मद्दत गर्छ । तर मानिस र सर्पको अप्रत्याशित जम्काभेट हुँदा जब सर्पले आफूमाथि खतरा महसूस गर्छ, त्यति बेला उसले डस्न सक्छ र कहिलेकाहीँ त्यो अवस्था गम्भीर पनि बन्न सक्छ ।

नेपालमा अहिलेसम्म ८९ वटाभन्दा धेरै सर्पका प्रजातिहरू पत्ता लागिसकेका छन् जसमध्ये झन्डै १७ प्रजाति विषालु छन् । विषालु सर्पहरूमध्ये खासगरी कोमन कोब्रा, रसेल्स वाइपर (गोमन), करैत र कहिलेकाहीँ राज गोमन निकै खतरनाक मानिन्छन् । यिनले टोकेको खण्डमा तुरुन्तै उपचार नपाएमा बिरामीको ज्यान जान सक्छ । विशेषगरी वर्षायाममा खेतबारीमा काम गर्दा, राति बाहिर हिँड्दा, बासस्थानको वरिपरि झाडी र फोहोर हुँदा सर्पसँग जम्काभेट हुने सम्भावना धेरै हुन्छ ।

सर्पले टोकेको खण्डमा तुरुन्तै अपनाउनुपर्ने केही सावधानीहरू छन् जसले धेरै हदसम्म ज्यान बचाउन सक्छ । सबैभन्दा पहिले बिरामीलाई ढाडस दिनु आवश्यक हुन्छ । डरले शरीरमा विष छिटो फैलन सक्छ । बिरामीलाई कम हिँडाउनुपर्छ । सकेसम्म नचलाउने गरी शान्त बनाउनु उपयुक्त हुन्छ । विष फैलिन नदिन ब्यान्डेज लगाउन सकिन्छ तर अत्यन्त कसेर होइन, हल्का कसेर मात्र । सर्पले टोकेको घाउलाई पखाल्ने, काट्ने, चुस्ने, घरेलु औषधि लगाउनेजस्ता कार्य नगर्नु नै राम्रो हुन्छ । यस्ता कुराले स्थिति झन् गम्भीर बनाउँछ । सबैभन्दा महत्त्वपूर्ण कुरा, जतिसक्दो छिटो नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा बिरामीलाई लैजानुपर्छ । सर्पको पहिचानका लागि सर्पको फोटो खिच्न सकिन्छ तर सर्प समात्न, मार्न खोज्ने काम जोखिमपूर्ण हुन्छ ।

पछिल्ला दुई महिनामा टेकु अस्पतालमा मात्रै दुई सयभन्दा बढी सर्पदंशका बिरामीहरूको उपचार भएको छ । तीमध्ये धेरै बिरामी सुरक्षित रूपमा निको भएका छन् ।
सर्पले टोकेको समयमा विषको प्रकार अनुसार लक्षण फरक–फरक देखिन्छ । सामान्यतया दुई प्रकारका विष हुन्छन् न्यूरोटक्सिन र हेमोटक्सिन । न्यूरोटक्सिन विषले बिरामीको स्नायुतन्त्रमा असर गर्छ जसले गर्दा बिरामीको आँखाको ढकनी झर्न थाल्छ, जिब्रो चलाउन गाह्रो हुन्छ, घाँटी उठाउन नसक्ने अवस्था आउँछ । बोली बन्द हुने, श्वासप्रश्वासमा गम्भीर समस्या देखिने र अन्ततः शरीरका अङ्गहरू चल्नै छोड्छन् । यस्तै हेमोटक्सिन विषले रगतमा असर गर्छ जसले रगत पातलो बनाउँछ, घाउबाट रगत अत्यधिक बग्ने, शरीरमा नीलडाम देखिने, सुन्निने र अङ्गहरू काम नगर्ने अवस्था निम्तिन्छ ।
सर्पले टोकेको हरेक अवस्थामा विष प्रवेश गरेको हुन्छ भन्ने हुँदैन । कतिपय अवस्थामा सर्पले चेतावनी स्वरूप मात्र टोक्ने गर्छ र विष नछोड्ने पनि हुन्छ । तर त्यो कुरा लक्षणले मात्र प्रष्ट हुन्छ, त्यसैले टोकाइपछि तुरुन्तै विशेषज्ञको सल्लाह र उपचार आवश्यक हुन्छ । नेपालको सन्दर्भमा अझै पनि सबै किसिमका सर्पका लागि उपयुक्त एन्टीभेनम उपलब्ध छैन् ।

भारतबाट आउने एन्टीभेनम औषधि कोब्रा, करैत र रसेल्स वाइपरविरुद्ध मात्र प्रभावकारी मानिन्छ । तर नेपालमा पाइने अन्य धेरै सर्पजस्तै राज गोमन, अन्धो सर्प, हरियो सर्प, कोरल सर्प आदिमा एन्टीभेनम प्रभावकारी छैन् । यदि यस्ता दुर्लभ विषालु सर्पले टोकेमा उपचार निकै चुनौतीपूर्ण हुन सक्छ । यद्यपि ती सर्पहरूले मानिसलाई डस्ने सम्भावना भने कम हुने भएकाले त्यस्ता घटनाबाट ज्यान जाने तथ्य भने निकै न्यून छ ।
नेपालमा हरेक वर्ष झन्डै ४० हजार मानिसलाई सर्पले डस्ने गरेको अनुमान छ जसमा तीन हजारको ज्यान जाने गर्छ । यो अत्यन्तै चिन्ताजनक तथ्य हो ।
अझ दुःखको कुरा के भने, यीमध्ये झन्डै ४० प्रतिशत मानिसको ज्यान घटनास्थलमै र अर्को ४० प्रतिशतको ज्यान उपचार पाउनुअघि गाउँघरमै जान्छ । यसबाट स्पष्ट हुन्छ कि सर्पदंशपछि समयमै उपचार नपाउनु सबैभन्दा ठूलो समस्या हो ।

सर्पले टोकेको खण्डमा तुरुन्तै अपनाउनुपर्ने केही सावधानीहरू छन् जसले धेरै हदसम्म ज्यान बचाउन सक्छ । सबैभन्दा पहिले बिरामीलाई ढाडस दिनु आवश्यक हुन्छ । डरले शरीरमा विष छिटो फैलन सक्छ । बिरामीलाई कम हिँडाउनुपर्छ । सकेसम्म नचलाउने गरी शान्त बनाउनु उपयुक्त हुन्छ । विष फैलिन नदिन ब्यान्डेज लगाउन सकिन्छ तर अत्यन्त कसेर होइन, हल्का कसेर मात्र । सर्पले टोकेको घाउलाई पखाल्ने, काट्ने, चुस्ने, घरेलु औषधि लगाउनेजस्ता कार्य नगर्नु नै राम्रो हुन्छ । यस्ता कुराले स्थिति झन् गम्भीर बनाउँछ । सबैभन्दा महत्त्वपूर्ण कुरा, जतिसक्दो छिटो नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा बिरामीलाई लैजानुपर्छ । सर्पको पहिचानका लागि सर्पको फोटो खिच्न सकिन्छ तर सर्प समात्न, मार्न खोज्ने काम जोखिमपूर्ण हुन्छ ।

सर्पदंशबाट जोगिन सतर्कता अपनाउन पनि आवश्यक छ । खाटमा सुत्ने, खेतबारीमा लामो बुट र सुरक्षात्मक पोशाक लगाउने, घर वरपर झाडी सफा राख्ने, गोठ र भान्सा सरसफाइ गर्ने, घरमा मुसा नबस्ने व्यवस्था मिलाउनेजस्ता उपायले सर्पको जम्काभेटबाट बच्न सकिन्छ । बालबालिकालाई जमिनमा ओछ्यान नलगाई सुताउने, रातिको समयमा बत्ती बालेर मात्र हिँड्नेजस्ता सावधानी पनि अति महत्वपूर्ण हुन्छन् ।
सर्पसँग सम्बन्धित जनचेतना अभावका कारण नेपालमा अझै पनि धेरै मानिसले गलत तरिकाले सर्पदंशको उपचार गर्छन् । कतिपय स्वास्थ्यकर्मीले समेत सर्पदंश र यसको उपचारबारे स्पष्ट जानकारी नपाएको देखिन्छ । तसर्थ गाउँगाउँमा तालिम, स्वास्थ्यकर्मीलाई सर्पदंशबारे ज्ञान, एन्टीभेनमको सजिलो उपलब्धता, जनचेतनामूलक कार्यक्रम, पाठ्यक्रममा सर्पबारे जानकारी समावेश गर्नु आजको आवश्यकता हो ।

हामीले बुझ्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा के हो भने सर्पले तब मात्र डस्छ जब उसले खतरा महसूस गर्छ । त्यसैले सर्पसँग डर होइन, सतर्कता र समझदारीपूर्वक व्यवहार गर्नुपर्छ । विषालु सर्पको खतरा हुँदाहुँदै पनि हामीले वैज्ञानिक ज्ञान, सावधानी र समयमै उपचारको माध्यमबाट धेरै जीवनहरू जोगाउन सक्छौँ । प्रकृतिको सन्तुलनमा सर्पको भूमिका महत्वपूर्ण भएकाले त्यसप्रति घृणा होइन, ज्ञान र सतर्कताको साथ व्यवहार गरौँ ।
(डा.बज्राचार्य, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका कन्सल्टेन्ट फिजिसियन एवम् सर्पदंश विशेषज्ञ हुन् । )

Leave a Reply

Your email address will not be published.