दमक,२० जेठ । राष्ट्रिय सभा, नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा झापामा निर्माण हुने औद्योगिक पार्कको विषय नसमेटेकोमा संसदमा प्रश्न उठाएका छन् ।
आईतबार राष्ट्रिय सभामा बजेट माथि आफ्नो धारणा राख्दै नेता दाहालले झापामा निर्माणको प्रकृया अघि बढेको नेपाल चीन मैत्री औद्योगिक पार्कको विषय किन नसमेटिएको भनेर प्रश्न गरे । झापाको दमक नगरपालिका,गौरादह र कमल गाउँपालिकामा १२ सय विगाह जमिन अधिग्रहण गरि निर्माणको क्रममा अघि बढेको सो औद्योगिक पार्क निर्माण कार्यको आवश्यक प्रकृया अघि बढाउनु पर्नेमा समेत उनको जोड छ ।
राष्ट्रिय सभामा सत्तापक्षीय संसदीय दलका नेता समेत रहेका दाहालले कृषिक्षेत्रलाई प्राथमिकता दिएर ल्याएको बजेटले विभिन्न दुरगामी विषयहरु समेत समेटेको उल्लेख गरे । ५ लाख भुमिहिनलाई बसोबासको व्यवस्था मिलाउने जस्ता विषय जनमूखी र दिर्घकालिन महत्वका विषय भएको उनले बताए । तर यी विषय कार्यान्वयनमा गम्भिर भएर लाग्नु पर्ने उनको भनाई थियो ।
आफ्नो संवोधनका क्रममा उनँले अर्थमन्त्रीलाई केहि प्रश्न सहित सुझाव पनि दिए । कृषि क्षेत्रलाई प्राथमिकता दिएको भनिए पनि सोहि मन्त्रालयको बजेट कटौती मिल्दो नभएको उनको भनाई थियो । यस्तै सिथिल अर्थतन्त्र उठाउने, राष्ट्रिय योजना आयोगको १६औ पञ्चवर्षिय योजनाले प्राथमिकता दिएको विषय समेटिएका छन् कि छैनन् भनि दाहालले प्रश्न पनि गरे ।