मोरङ कारागारका एक जना थुनुवाको मृत्यु

मोरङ,२१ बैशाख । जिल्ला कारागार मोरङका एक जना थुनुवाको आज आइतबार बिहान मृत्यु भएको छ ।ठगी मुद्दाका थुनुवा रामेछापको दोरम्बा–सैलुङ गाउँपालिका–२ घर भएका ५४ वर्षीय प्रवीण तामाङको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए ।

उनका अनुसार अचानक श्वासप्रश्वासमा समस्या भएपछि तामाङलाई उपचारका लागि शनिबार साँझ विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो ।तामाङको उपचारकै क्रममा आइतबार बिहान ४ बजेतिर मृत्यु भएको जानकारी ढुंगेलले दिए । उनी अदालतको आदेशबाट २०८१ पुस १६ गते पुर्पक्षका लागि मोरङ कारागार चलान भएका थिए ।
उनीविरुद्ध दर्ता भएको ठगी मुद्दा विचाराधीन छ । मुद्दा किनारा नलागिकन तामाङको मृत्यु भएको हो । ‘अस्पताल भर्ना गर्दा अवस्था सामान्य थियो,’ जेलर ढुंगेलले भने, ‘अचानक मृत्यु भएको खबर आयो ।’
शवलाई कोशी अस्पतालमै राखिएको छ । घटनाका बारेमा तामाङको परिवारलाई खबर भइसकेको र परिवारका सदस्य एवं आफन्त आइपुगेपछि थप प्रक्रिया अघि बढाउने ढुंगेलले बताए ।

पछिल्लो समय मोरङ कारागारमा रहेका कैदीबन्दी एवं थुनुवाको मृत्यु हुने क्रम बढेको छ । पछिल्लो १ सातामा मात्रै २ जनाको मृत्यु भइसकेको छ । कारागारमा रहेका कैदीबन्दीको मृत्यु हुने क्रम बढेको ढुंगेलले बताए । राज्यको नियन्त्रणमा रहेका कैदीबन्दी एवं थुनुवाको मृत्यु भइरहँदा कारागारभित्रको सुरक्षालाई लिएर चिन्ता थपिएको छ ।
मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ ।

महिला र पुरुष गरेर ३ सय जना क्षमताको कारागारमा आइतबार बिहानसम्ममा १ हजार ३८ जना कैदीबन्दी रहेका छन् । जसमध्ये नाबालक ३, महिला १ सय ७ र पुरुष ९ सय २८ रहेका हुन् ।
क्षमताभन्दा बढी कैदीबन्दी राख्नु परेका कारण कारागारको अवस्था भद्रगोल बनेको छ । कैदीबन्दीलाई खाने, बस्ने र सुत्ने ठाउँको समेत अभाव भइरहेको कारागार प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.