झापा,२० बैशाख । मेचीनगर नगरपालिकाको वडा नं १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी राकेश थापाका अनुसार बिहान ३ बजेतिर शुरु भएको आगलागी करिव ४ घण्टा पछि नियन्त्रणमा आएको थियो ।
आगो निभाउन भद्रपुर, मेचीनगर, बिर्तामोड, दमक, पथरी र उर्लाबारीका बारुणयन्त्रको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्या परिचालित भएका थिए ।
धुलाबारीबाट करिब सात किलोमिटर दक्षिण भद्रपुरसँग सीमा जोडिएको गाउँमा भद्रपुरका आदित्य पराजुलीलगायत उद्योगीले ब्रिकेट कोइला उत्पादनका लागि कारखाना सञ्चालन गरिआएका थिए । आगलागीको क्षतिको विवरण यकिन नभइसकेको प्रहरीको भनाई छ ।